विदेशी कम्पनीमा नेपालमै बसेर काम गर्नेको माग- ‘हाम्रो आम्दानीलाई पनि रेमिट्यान्स मानियोस्’



विदेशका विभिन्न कम्पनीमा नेपालबाट काम गर्ने व्यक्तिलाई नेपालको कानून अनुसार आयकर लाग्ने व्यवस्थाले हुण्डी लगायतका अनौपचारिक माध्यमबाट हुने कारोबार बढाएको छ ।

काठमाडौं । रमेश (नाम परिवर्तन) समाजिक सञ्जाल फेसबुकका लागि नेपालबाटै काम गर्छन् । कोरोना महामारीभन्दा पहिले रमेश सिङ्गापुरस्थित फेसबुकको कार्यालयबाटै काम गर्दथे ।

कम्पनीले घरबाटै काम गर्न सकिने व्यवस्था गरेपछि रमेश काठमाडौं फर्किए । र, यतै बसेर काम गरिरहेका छन् ।

पेशाले सफट्वेयर इञ्जिनियर रमेशको आम्दानी राम्रो छ ।

महिनाको १५ लाख रुपैयाँसम्म कमाउने रमेशले सिङ्गापुरमा हुँदा केही रकम खर्च गरेर बाँकी रकम नेपाल पठाउँदै आएका थिए ।

सिङ्गापुरबाट नेपालमा औपचारिक माध्यम प्रयोग गर्दै रेमिट्यान्स पठाउने भएकाले रमेशको परिवारलाई आम्दानीको स्रोत देखाउन कुनै समस्या थिएन ।

नेपाल आएपछि भने रमेशलाई हरेक महिना तलब बुझ्न समस्या भएको छ । सिङ्गापुरमा बसेर फेसबुकमा काम गर्दा रमेशले नेपाल पठाउने पैसालाई रेमिट्यान्स मान्ने नेपालको कानूनले नेपालबाटै फेसबुकमा काम गरेर कमाएको पैसालाई भने रेमिट्यान्स मान्दैन् ।

आयकर ऐनअनुसार ४ लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले १ प्रतिशत कर तिर्नुपर्छ । आम्दानी ४ लाख रुपैयाँभन्दा बढी र ५ लाख रुपैयाँसम्म भए १० प्रतिशत कर लाग्छ ।

पाँच लाख रुपैयाँबढी र ७ लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत कर लाग्ने कानूनी व्यवस्था छ ।

नेपालमा वार्षिक ७ लाख रुपैयाँ कमाउने व्यक्तिले सरकारलाई ५४ हजार रुपैयाँ आयकर तिर्नुपर्छ । सात लाख रुपैयाँभन्दा बढी बीस लाख रुपैयाँभन्दा कम आम्दानी गर्नेले ३० प्रतिशतसम्म कर लाग्ने व्यवस्था ऐनले गरेको छ ।

वार्षिक आम्दानी २० लाख रुपैयाँभन्दा बढी भए ३६ प्रतिशत कर तिर्नुपर्छ । जसले गर्दा रमेशले नेपालमा ३६ प्रतिशतसम्म आयकर तिर्नुपर्ने हुन्छ ।

‘नेपाल सरकारले हामीले केही सुविधा दिएको छैन । आफ्नो क्षमताले विदेशका प्रतिष्ठित कम्पनीमा नेपालबाट काम गर्दा समेत हामीलाई नेपालको कानून अनुसार आय कर तिर्नुपर्ने भनिन्छ’ रमेश भन्छन्, ‘मैले गर्ने काम र कम्पनी एउटै हो । सिङ्गापुरमा बसेर काम गर्दा मैले पठाएको पैसालाई रेमिट्यान्स भनिन्छ । नेपालमा बसेर काम गर्दा सोही कम्पनीले दिने तलब सुविधमा ३६ प्रतिशतसम्म कर लगाउने भनिन्न । यस्तो कसरी मिल्छ ?’

चालु आर्थिक वर्षको बजेटमा नेपालमा बसेर विदेशबाट आर्जन गर्ने व्यक्तिबाट १ प्रतिशत अग्रीम कर कट्टा गर्ने व्यवस्था गरिएको छ । उक्त करलाई अन्तिम नभएकाले नेपालमा बसेर विदेशमा काम गर्ने व्यक्तिलाई वार्षिक आम्दानी २० लाख रुपैयाँभन्दा बढी हुँदा ३६ प्रतिशत कर लाग्ने डर छ । जसले गर्दा पछिल्लो समय अनौपचारिक माध्यमबाट नेपालमा पैसा भित्रिने क्रम बढेको छ ।
गत वर्षसम्म रमेश पनि बैंकिङ प्रणालीबाटै पैसा गर्दथे ।

तर, सरकारले चालु आर्थिक वर्षबाट १ प्रतिशत कर कट्टा गर्न शुरु गरेपछि भने उनले हुण्डीमार्फत् पैसा ल्याउन थालेका छन् ।

‘फेसबुकले मलाई तलब सिङ्गापुरको कानून अनुसार कर कट्टि गरेर दिन्छ,’ रमेश भन्छन्, ‘नेपालमा समेत सरकारले कर लिने भएपछि मैले बैंकिङ प्रणालीबाट पैसा ल्याउन छाडेको छु । कम्पनीले नै हुण्डीबाट पैसा पठाउने गर्छ ।’

विदेशी कम्पनीमा नेपालबाट काम गर्दा सरकारले किन कर नमिल्ने रमेशको तर्क छ ।

‘नेपालमा दर्ता भएका कम्पनीमा काम गरेको भए सरकार कर लिएको मिल्थ्यो,’ रमेश भन्छन्, ‘एकातर्फ सरकारले रेमिट्यान्स औपचारिक माध्यमबाट आएन भनेर सहुलियत दिने भन्छ अर्काेतर्फ नेपालमा बसेर विदेशी कम्पनीमा काम गरेर रेमिट्यान्स ल्याउन सक्ने हामीहरुलाई उच्च कर लगाउने भन्छ । यस्तो नीतिले देश कसरी भन्छ ?’

आन्तरिक राजस्व विभागका निर्देशक प्रकाश पौडेल नेपालमा बसेर विदेशमा काम गर्दा समेत नेपालमा कर तिर्नुपर्ने बताउँछन् ।

‘विदेशमा काम गर्ने केही व्यक्तिहरुले विभागमा आएर नेपालमा कर लिँदा दोहोरो मारमा परेको बताउनु भएकोछ,’ पौडेल भन्छन्, ‘त्यसैले आगामी आर्थिक वर्षको बजेटमा उक्त समस्या कसरी समाधान गर्ने भन्ने विषय छलफल गरिरहेका छौं ।’

आयकर ऐन २०५८ मा बासिन्दा व्यक्तिले नेपालको कानून अनुसार कर तिर्नुपर्ने व्यवस्था गरेकाले नेपालमा बसेर विदेशी कम्पनीबाट आर्जन गर्ने व्यक्तिले नेपालको कानून कर तिर्नुपर्छ । आयकर अनुसार १८३ दिन वा सोभन्दा बढी देशभित्र बस्ने व्यक्तिलाई बासिन्दा व्यक्ति भनिन्छ ।

नेपालमा बसेर काम गर्नेहरु बासिन्दा व्यक्ति भएकाले आयकर ऐन अनुसार कर तिर्नुपर्ने विभागका निर्देशक पौडेल बताउँछ्न् ।

‘कसैले हुण्डीबाट पैसा ल्याउँछन् भन्दैमा कानूनले कर लाग्छ भन्यो भने कर छुट दिने भन्ने हुन्न’ पौडेल भन्छन्, ‘अहिलेको कानूनी व्यवस्था अनुसार उहाँहरुले कर तिर्नुपर्छ । तर, अन्य देशको अभ्यास समेत हेरेर उहाँहरुको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा हामी छलफलमा छौँ ।’

कोरोना महामारीपछि घरमा बसेर काम गर्ने प्रचलन व्यापक बढ्यो । संसारका ठूला कम्पनीले समेत आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न दिए । विशेषगरी प्रविधिका क्षेत्रमा घरबाटै काम गर्नेको संख्या बढ्दो क्रममा छ ।

संसारका ठूला प्रविधि कम्पनी फेसबुक, ट्विटर, नेटफ्ल्क्सि अमेजनदेखि कयौँ सफ्टवेयर कम्पनीमा नेपालबाट काम गर्नेको संख्या ठूलो छ । सफ्टवेयर कम्पनीमा नेपाली नागरिकले विगतदेखि नै काम गर्दै आएपनि कोरोना महामारीपछि अन्य कम्पनीमा समेत काम गर्नेको संख्या बढेको हो ।

एक सफ्टवेयर कम्पनीका लागि नेपालबाट काम गर्ने व्यक्ति उनको कम्पनीले नगद रुपैयाँमा तलब दिने गरेको बताउँछन् ।
‘कम्पनीले हुण्डीबाट नेपालमा पैसा पठाउँछ, यहाँको एजेण्टले उक्त पैसा निकालेर हामीलाई नगद रुपैयाँमा तलब दिने गर्छ,’ ती कर्मचारी भन्छन्, ‘बैंकिङ प्रणालीबाट तलब दिँँदा कर तिर्नुपर्छ भनेर हुण्डीबाट पैसा ल्याउने गरिन्छ ।’

यस्तै ट्विटरमा नेपालबाट काम गर्ने एक व्यक्ति कम्पनीले बैंकिङ प्रणालीबाट तलब पठाउने गरेको बताउँछन् ।

‘यो वर्षदेखि १ प्रतिशत कर कट्टा गरेर मैले तलब पाउने गरेको छु,’ ती व्यक्ति भन्छन्, ‘मेरो आय विवरण पेश गर्दा सरकारले आयकर ऐनअनुसार ३६ प्रतिशत कर लगाउन सक्छ भन्ने सुनेको थिए । मैले अहिलेसम्म कर चुक्ता प्रमाण पत्र लिएको छैन् । बैंकले पनि मागेको छैन् ।’

विदेशी कम्पनीमा नेपालबाट काम गर्ने व्यक्तिले आफ्नो आम्दानीलाई रेमिट्यान्स सरह सुविधा दिन माग गरेको आन्तरिक राजस्व विभागका निर्देशक पौडेल बताउँछन् ।

‘हामीलाई विदेशमा रहेको कम्पनीले तलब सुविधा दिएको हो । हामी नेपाली कम्पनीमा काम गरेको होइन भन्ने उहाँहरुको तर्क छ,’ निर्देशक पौडेल भन्छन्, ‘तर, अहिलेको कानून अनुसार हामी उहाँहरुको तर्कमा सहमत हुन मिल्दैन् ।’

आन्तरिक राजस्व विभागसँगको छलफलमा केही व्यक्तिले ५ देखि ७ प्रतिशत मात्रै कर तिर्न तयार रहेको बताएका छन् ।

नीहरुले न्यून कर लिने व्यवस्था आगामी बजेटमा गरिए नेपालमा ठूलो रकम औपचारिक माध्यमबाट भित्रिने दाबी छ ।
विभिन्न कम्पनीका काम गर्ने व्यक्तिका अनुसार नेपालबाट १० देखि १२ हजार व्यक्तिले विदेशका विभिन्न कम्पनीमा नेपालबाटै काम गर्ने गर्छन् ।

सरकारले कर छुट दिने वा थौरै कर लिने व्यवस्था गर्दा पनि मासिक ५० लाख अमेरिकी डलर विदेशी मुद्रा औपचारिक माध्यमबाट भित्रिने फेसबुकमा काम गर्ने एक व्यक्तिको दाबी छ ।

‘सरकारले हुण्डी रोक्न सक्दैन,्’ ती व्यक्ति भन्छन्, ‘हामीले विदेशबाट ल्याएको पैसा निर्वाधरुपमा नेपालमा प्रयोग गर्न पाएका छौँ । हामीहरु उच्च कर तिर्नुभन्दा हुण्डीबाट पैसा ल्याउँछौँ । सबैले आफ्नो फाइदा हेर्ने न हो ।’


शरद ओझा