गभर्नरमाथिको कारबाही विरुद्ध राष्ट्र बैंकका कर्मचारी आन्दोलित



काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन् ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले प्रधान कार्यालय परिसरमा कालो ब्यानरसहित विरोध स्वरुप कोणसभाको आयोजना गरेका छन् ।

संघले राष्ट्र बैंकको केन्द्रिय कार्यालयलगायत उपत्यका बाहिरका सबै कार्यालयहरूमा एकैसाथ कालो ब्यानर समेत झुण्डयाइएको छ । ‘केन्द्रिय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर’ ‘निराधार तथा कपोकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारीमाथि शुरु गरिएको कारबाही प्रक्रिया फिर्ता गर’ र ‘संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्वारमा लागि विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ भन्ने नाराका साथ विरोध गरिएको छ ।

संघका केन्द्रीय अध्यक्ष रुद्र प्रसाद तिम्सिनाले कोणसभामा राज्य सञ्चालकहरू वित्तिय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त, वित्तीय माफियाहरूको चंगुलनमा फस्ने गरेका बताउँछन् । त्यो बेला राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको उनको तर्क छ ।

‘हालको गभर्नर माथिको आक्रमण नयाँ नभई यो भन्दा अगाडि पनि राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरू हुने गरेको छ’ उनले भने ‘केन्द्रीय बैंकको नेतृत्वमाथि हुने गरेको आक्रमणका बेला राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि विरोधको कार्यक्रमहरूमा उत्रने गरेको छ ।’

यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरू क्रमशः कल्याण विक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालिन सरकारले गरेको बर्खास्ती तथा निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारीहरू अख्तियारदेखि अदालतसम्म गएर आन्दोलन गरेको स्मरण गर्दै गभर्नरमाथि गरिएको कारबाही फिर्ता लिन अध्यक्ष तिम्सिनाले अनुरोध गरे ।


क्लिकमान्डु