आइपीओ निष्कासन गरेको रिभल फल्स पावरको कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । रिभर फल्स पावर कम्पनीले आयोजना प्रभावित संखुवासभा जिल्लाका स्थानीयलाई आइपीओ निष्काशन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्ने र दोस्रो चरणका कम्पनीका कर्मचारी, मर्चेन्ट बैंक र सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने छ ।

कम्पनीले आइपीओ निष्काशन गर्दै गर्दा लगानीकर्तामा यो कम्पनी कस्तो छ, कम्पनीले कति नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ, कम्पनीले लाभांश कतिदेला, कम्पनीमा कस–कसको लगानी रहेको छ भन्ने सबैलाई चासो हुने गर्दछ ।

यो कम्पनीले २०७२ साल असोज १९ बाट कारोबार सुरु गरेको हो । कम्पनीले अहिले संखुवासभा जिल्ला, धर्मदेवी नगरपालिका–६ मुल सडकबाट ४ किमिको दुरीमा अवस्थित आयोजना निर्माण गरिरहेको छ ।

पिलुवा खोला साना जलविद्युत आयोजनाको सम्पूर्ण संरचना संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका–४ र ६ मा रहेको छ । १०.३० मेगावाट जडित क्षमता रहेको आयोजनाको कुल लागत १ अर्ब ८६ करोड ३ लाख ३४ हजार रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रुपैयाँ रहेको छ । आयोजनाको काम ८८ प्रतिशत सकिएको छ ।

उक्त आयोजनामा दिनेश गुरुङको ५ लाख ७५ हजार ५२७ कित्ता, सुभाष अमात्यको नाममा ४ लाख ३० हजार ६१९, मित्र लाल श्रेष्ठको नाममा ३ लाख ६४ हजार ४३८ कित्ता, माया खोला हाईड्रोपावर कम्पनीको १ लाख ६७ हजार १६६ कित्ता, ग्लोबल होल्डिङ्सको १ लाख १७ हजार ६९१, सनराइज होल्डिङ्सको १ लाख ५ सय , गीता सुवेदी ओलीको ९५ हजार ४११, राधव अग्रवालको ९४ हजार ९१९, वल्डवाईड नेपाल इन्भेष्टमेन्ट प्रालिको नाममा ८० हजार र गोपाल प्रसाद ओलीको नाममा ७५ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

२०७८ पुस मसान्तसम्म कम्पनीको सेयर पुँजी ७० करोड रुपैयाँ रहेको छ । आगामी आव २०७९/८० र आव २०८०/८१ मा पनि कम्पनीको सेयर पुँजी यति नै कायम रहने भएको छ । आव २०७८/७९ मा ऋणात्मक रहेको भएपनि कम्पनीले आव २०७९/८० मा १ करोड ८२ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गर्ने र आव २०८०/८१ मा २ करोड १५ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य कम्पनीको रहेको छ ।

आव २०७८/७९ मा ९२ रुपैयाँ ५६ पैंसा प्रतिसेयर नेटवर्थ रहेको कम्पनीको आव २०७९/८० मा प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७१ पैसा र आव २०८०/८१ मा १०३ रुपैयाँ ३२ पैसा रहेको छ ।

यस्तै आव २०७८/७९ मा प्रतिसेयर आम्दानी १ रुपैयाँ ३१ पैसा ऋणात्मक रहेको कम्पनीको आव २०७९/८० मा प्रतिसेयर आम्दानी १० रुपैयाँ ५ पैसा र आव २०८०/८१ मा १३ रुपैयाँ ४७ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।


क्लिकमान्डु