गभर्नरको नाममा सेयर बजार घटाउने जिल्लै, रोकिएन गिरावट



काठमाडौं । धेरै समयदेखि सेयर बजार प्यानिक बनिरहेको छ ।

बजारमा गिरावट आएको समयमा लगानीकर्ताहरुले नियामक निकाय, नेपाल राष्ट्र बैंक तथा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आरोप लगाएका थिए । सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेसँगै बजार बुम बुम हुन्छ भनेर केही लगानीकर्ताले भनेका पनि थिए । तर आइतबारको कारोबारमा भने त्यस्तो देखिएन ।

निलम्बित गभर्नर अधिकारीले मौद्रिक नीतिमा ४,१२ को नीति लिएको, सिसिडी रेसियो हटाएर सिडी रेसियो लागू गरेको जस्ता कारण बजारमा गिरावट आएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए । तर सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको पहिलो कारोबारमा बजारमा भारी गिरावट आएको छ । यो दिनको कारोबारमा बजार बुम बुम हुन्छ भन्ने लगानीकर्ता समेत जिल्लै परेका छन् । यो दिन बजारमा उछाल आउँछ भन्ने लगानीकर्ताको भाषणबाजीलाई बजार अस्विकार गरेको छ ।

बजार मापन गर्ने सूचक ४४.६४ अंकले घटेर परिसूचक २४१९.७१ बिन्दुमा रोकिएको छ । २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ १४.२६, विकास बैंक ६४.१८, वित्त ४५.८३, जलविद्युत ६०.९८, जीवन बीमा ४३१.८२, उत्पादन तथा प्रशोधन १२८.९५, माइक्रोफाइनान्स ५१.९५, निर्जीबन बीमा समूहको उपसूचक १५५.५९ अंकले घटेको छ ।

यो दिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको कारोबारमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु