अर्थतन्त्र संकटउन्मुख हुँदा पनि सरकार निजी क्षेत्रसँग छलफल गर्दैनः गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाललाई श्रीलंकाको बाटोमा जान नदिन चनाखो हुनुपर्ने बताएका छन् ।

‘नेपाल श्रीलंका जस्तो बन्दैन तर, चनाखो भने हुनुपर्छ,’ उनले भने, ‘यदि त्यसो गरिएन भने केही वर्षपछि अझ खराब अवस्थामा नपुग्ला भन्न सकिन्न,’ उनले भने ।

महासंघको ५६औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै गोल्छाले देशको अर्थतन्त्र संकटमा भएको समाचार सञ्चारमाध्यममा आएपनि आफूहरुसँग सरकारी पक्षले छलफल नगरेको गुनासो गरे ।

‘हामी पनि यही मुलुकका नागरिक हौं, अर्थतन्त्रमा हाम्रो लगानी ७७ प्रतिशत लगानी छ,’ उनले भने, ‘हामी पनि संकट हुन नदिन योगदान दिन चाहन्छौं, हामीलाई पनि मुलुकको माया छ ।’

चालु आवको सात महिनाको तथ्यांकले आत्तिनुपर्ने अवस्था नदेखाए पनि आठ र नवौं महिनामा संकटउन्मुख भएको उनको भनाइ छ ।

सरकारले अपारदर्शीतालाई महत्व दिन खोजिरहेको उनले आरोप लगाए ।

सरकारले दीर्घकालीन नीति बनाउन नसकेकाले संकट निम्त्याएको अनुमान उनको भनाइ छ ।

गोल्छाले उद्योगीका समस्या सरकारबाटै नजरअन्दाज भएको बताए ।

‘सरकारले हामीसँग सल्लाह नै नगरी निर्णय गर्दै आएको छ, नीति किन ल्याइन्छ र यसको असर के हुन्छ थाहा पनि हुँदैन,’ उनले भने ।

उनले अर्थतन्त्रका विकासक्रमबारे समाचार पढेर मात्रै थाहा पाउन अवस्था आएको बताए ।

‘अर्थतन्त्र संकटमा छ भन्ने समाचार सुनिन्छ, तर समाधान गर्न के गर्ने भनेर सरकारले निजीक्षेत्रसँग छलफल गर्दैन,’ उनले भने ।

उनले अर्थतन्त्रमा उत्साह र माग सिर्जना हुँदै गए पनि अर्थतन्त्रको संरचनाले थेग्न नसक्ने अवस्था आएको बताए ।

‘हाम्रो अर्थतन्त्रको आकार सानो छ,’ गोल्छाले भने, ‘पहिलो ५ महिना ५.११ प्रतिशतले विस्तार भएको अर्थतन्त्र अहिले संकुचन हुन थालेको छ ।’

उनले आफूहरु सरोकारवालासँग सार्थक सहयोग खोजिरहेको भन्दै अहिलेको अवस्था संकटउन्मुख भए पनि संकटग्रस्त भने नभएको बताए ।


क्लिकमान्डु