अर्थतन्त्र जोगाउन खोज्दा गभर्नर निलम्बन, ‘धान खाने थुतुनाभरी रौं भएको मुसो, भ्यागुतालाई कारबाही’: ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर आफ्नो असली चरित्र देखाएको बताएका छन् ।

शनिबार राजधानीमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले अर्थतन्त्र जोगाउन खोज्दा गभर्नरले निलम्बन खेप्नु परेको र सरकारको उक्त निर्णय गलत भएको बताए । ओलीले अर्थतन्त्र विगार्ने मान्छेले नै गभर्नरलाई अर्थतन्त्र विगारेको आरोप लगाएको बताए ।

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र विगारेको संकेत गर्दै ओलीले भने, ‘मुखभरी रौं भएको मुसोले धान खायो तर एउटा पनि रौं नभएको भ्यागुत्तोलाई कारबाही भयो ।’

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले गभर्नरले अर्थतन्त्र विगारेको भन्दै उनलाई निलम्बन गरी छानविन गर्न सर्बोच्च अदालतका पूर्वन्यायधीसको संयोजकत्वमा कमिटि गठन गरेको थियो ।

अस्थिर सरकार र सरकारले लिएका नीतिका कारण देशको अर्थतन्त्र दिनानुदिन संकटमा पर्दै गएको छ । तर, सरकारले अर्थतन्त्र विग्रिनुको दोष राष्ट्र बैंकका गर्भनरलाई लगाएको छ ।

‘अर्थतन्त्र जोगाउन लागि परेको एउटा राष्ट्र सेवक र अर्थशास्त्री बुझेको व्यक्तिलाई सरकारले कारबाही गर्यो रे,’ ओलीले भने, ‘विगार्ने एउटा, कारबाही भोग्ने अर्को ।’

अर्थतन्त्र जोगाउन लागिपरेका गभर्नरलाई सरकारले हटाएर बलिको बोको बनाउन खोजेको उनको भनाइ थियो ।

ओलीले देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको बताए ।

राष्ट्र बैंकको डेपुटी गभर्नर भएको, अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दाखोज्दै निलम्बनमा परेको छ,’ ओलीले भने ।

ओलीले माओवादीले नियुक्त गरेका न्यायाधीशको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको भन्दै आपत्ति जनाए ।

‘हामीलाई न्यायालय कस्तो छ भन्ने, थाहा छ,’ ओलीले भने ।

ओलीले नियुक्तिहरूमा पनि नातावाद र कृपावाद चलेको बताए । देशमा नातावाद कृपावादको बहस चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्षका भाई नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्य नियुक्ति गरिएको उनले बताए ।


क्लिकमान्डु