आइपीओ निकाल्न लागेको सर्वोत्तम सिमेन्टको आम्दानी २१%ले बढ्यो



काठमाडौं । सर्वोत्तम सिमेन्टले कोरोनाकालमै व्यापार २१ प्रतिशतले बढाएको छ ।

कम्पनीले सन् २०२० को तुलनामा सन् २०२१ मा व्यापार २१ प्रतिशतले बढाएको हो । कम्पनीले सन् २०२१ मा ७ अर्ब ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेकोमा सन् २०२१ मा ८ अर्ब ९५ करोड रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०१८ मा ६ अर्ब २६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले सन् २०२२ को अर्धवार्षिकसम्ममा ३ अर्ब ८१ करोड ३० लाख आम्दानी गर्ने लक्ष्य लिएको छ ।

शुरुवाती चरणमा वार्षिक ४ लाख मेट्रिक टन क्षमतामा उत्पादन शुरु गरेको सर्वोत्तम सिमेन्टले अहिले वार्षिक १० लाख मेट्रिक उत्पादन गर्न सक्ने क्षमतामा पुगेको छ ।

कम्पनीका अनुसार अहिले सिमेन्ट उद्योगमा बढ्दो प्रतिस्पर्धा र पहिलो अर्धवार्षिकमा न्यून व्यापार हुँदा क्लिङ्कर र सिमेन्ट व्यापार घट्ने जनाएको छ । साथै, अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य निकै बढेकाले नाफामा असर पुग्ने कम्पनीको भनाइ छ ।
यद्यपि, आर्थिक वर्षको ६ महिनाको अवधिमा राम्रो बिक्री हुँदा मार्जिनमा सुधार हुने अपेक्षा गरिएको छ ।

उक्त आम्दानी बढ्दा ग्रान्डिङ सिमेन्टको व्यापार ८९ प्रतिशतले बढेको छ । तर, गत वर्ष क्लिङ्करको व्यापार भने ८ प्रतिशतले गिरावट आएको कम्पनीले जनाएको छ ।

इक्राअनुसार उच्च परिमाणमा बिक्री भएकाले पनि सिमेन्टको ब्रान्ड स्थापित भएको छ । अहिले अधिकांश सिमेन्ट उद्योगहरू घाटामा गएको अवस्थामा सर्वोत्तमले उच्च रुपमा व्यापार गरेको कम्पनीको भनाइ छ ।

सर्वोत्तम सिमेन्ट सौरभ ग्रुपको एक हिस्सा रहेको छ । २० वर्षभन्दा बढी सिमेन्ट उद्योग, निर्माण र ट्रेडिङ क्षेत्रमा अनुभव रहेको कम्पनीले विभिन्न नाममा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीका अनुसार सन् २०२० को तुलनामा सन् २०२२ को ६ महिनाको अवधिमा आफ्नो उत्पादन क्षमतालाई २० प्रतिशतदेखि ४२ पुर्याउने भएको छ ।

सर्वोत्तम सिमेन्ट २०१९ मा पब्लिक कम्पनी बनेको थियो । क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले दुबै गरेर १० लाख मेट्रिक टन उत्पादन गर्ने क्षमता रहेको छ ।

रामनगर नवलपरासीमा उत्पादन गर्दै आएको सर्वोत्तमले ओपीसी र पीपीसी दुबै सिमेन्ट उत्पादन गर्दै आएको छ ।
त्यसैगरी, कम्पनीले बीथ्री प्लस रेटिङ पाएको छ ।

कम्पनीले यसअघि ६ अर्ब ३५ करोड ३० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएकोमा अहिले ऋण १ अर्ब ६६ करोड ७० लाख रुपैयाँ कम ४ अर्ब ६८ करोड ६० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासनको तयारी गरिरहेको छ । तर लामो समय भइसक्दा पनि आइपीओ निष्कासनको मिति तय भएको छैन ।


क्लिकमान्डु