काठमाडौं महानगरले विभिन्न अस्पताललाई दियो करिब २ करोडको १५ ओटा शववाहन



काठमाडौं । काठमाडौं महानगरपालिकाले १ करोड ८० लाख रुपैयाँ बराबरका ह्वील स्ट्रेचरसहितका १५ ओटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शववहानको साँचो सम्बन्धित पक्षलाई हस्तान्तरण गरेका छन् । प्रमुख शाक्यले यस अघि पनि सामूदायिक, सरकारी र नीजि अस्पताललाई सहयोग गर्दै आएको स्मरण गराए ।

‘काठमाडौ महानगरपालिका आफैँले शववहान सञ्चालन गर्नुपर्छ भन्नेहरु पनि छन् तर काठमाडौँ महानगरलाई नाम भन्दा काम चाहिएको छ,’ प्रमुख शाक्यले भने, ‘हामीले सहकार्यको हात बढाउँदै आज शववहान हस्तान्तरण गर्दै हाम्रो दायित्व पूरा गरेका छौँ । अब तपाईँहरुले महानगर र उपत्यकावासीको अपेक्षा गरे अनुसार यी शववहानको प्रयोग गर्नुहोला ।’

उनले कोभिडका बेला पनि महानगरपालिकाले विभिन्न अस्पतालहरुसँग सहकार्य गरेर भेण्टिलेटरलगायतका उपकरण सहयोग गरेको स्मरण गराए । उनले सबैको साझा प्रयास भयो भने जनतामा आउने नैरश्यतालाई सकेसम्म निर्मूल नभए पनि धेरै हदसम्म कम गर्न र उत्साह थप्न सकिने बताए ।

एकै पटक क्षत्रपार्टी निशुल्क चिकित्सालय, नेपाल एपीएफ अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, सूर्य विनायक नगरपालिका, गोदावरी नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल, भद्रपुर नगरपालिकालगायतलाई शववहान हस्तान्तरण गरेको हो । महानगरपालिकाले दिएको जानकारी अनुसार ती प्रत्येक शववहानको मूल्य करिब १२ लाख ४ हजार परेको छ ।

सम्झौता अनुसार ती शववहानले उपत्यका भित्र निशुल्क सेवा प्रवाह गर्नुपर्ने छ । महानगरले १५ शववहान मध्ये नेपाल एपीएफ र त्रिवि शिक्षण अस्पताललाई भने दुई–दुई ओटा हस्तान्तरण गरेको हो । प्रमुख शाक्यले हस्तान्तरण गरेको शववहानको साँचो ग्रहण गर्दै एपीएफ अस्पतालका प्रमुख डाक्टर रुपक महर्जनले महानगरपालिकाले दिएका शववहानको दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।


क्लिकमान्डु