निफ्रा, टेलिकमसहित ८ कम्पनी थपिए संस्थागत लगानीकर्तामा



काठमाडौं । योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्नको लागि ८ वटा संस्था थपिएका छन् । धितोपत्र बोर्डले ८ संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति दिएको छ ।

बोर्डले चैत २३ गते सानिमा लार्ज क्याप फन्ड, नेपाल दूरसञ्चार कम्पनी, प्रभु सेलेक्ट फन्ड, अल्फा इन्भेस्टमेन्ट, स्काई टच इन्भेस्टमेन्ट एन्ड कन्सल्टेन्ट, टेलिभेन्चर पार्टनर्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र महालक्ष्मी विकास बैंकलाई संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति दिएको बोर्डले जनाएको छ । यो सँगै योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति पाउने कम्पनीको संख्या ९५ पुगेको छ ।

अब कुनै पनि कम्पनीले बुक बिल्डिङ प्रणालीबाट साधारण सेयर जारी गर्न लागेमा यी ९५ वटा कम्पनीले मूल्य निर्धारण प्रक्रियामा भाग लिन पाउनेछन् । बोर्डको अनुमितसँगै यी कम्पनीलाई संस्थागत लगानीकर्ताका रुपमा सेयर कारोबार गर्नको लागि बाटो पनि खुलेको छ । सबै कम्पनीले मूल्य निधारुणका साथै संस्थागत रुपमा सेयरको कारोबार गर्न समेत पाउनेछन् ।


क्लिकमान्डु