रेमिट्यान्स बढाउन विदेशबाट पैसा पठाउँदा लाग्ने सेवाशुल्क हटाउनुपर्छः श्रममन्त्री



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिट्यान्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे विभिन्न प्रस्ताव गरेका छन् ।

अर्थमन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिट्यान्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताएका छन् ।

नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैंकहरूसँग लगानीयोग्य पुँजी अभावको समस्या हट्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्री श्रेष्ठले नेपाल आउने रेमिट्यान्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, मन्त्री श्रेष्ठले विदेशबाट पैसा पठाउदा लाग्ने सेवाशुल्क हटाउनुपर्ने, विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने, विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने र औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा नेपाल आउँदा ल्याउन पाउने सामान टिभी, गरगहना आदिमा सहुलियत दिनुपर्ने प्रस्ताव पेश गरेको छ ।

साथै, औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुनः श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने, वार्षिक रुपमा सबैभन्दा धेरै विप्रेषण पठाउने मध्येलाई राष्ट्रिय सम्मान गर्ने, रेमिट्यान्स पठाउनेहरुलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवाहरुमा ५० प्रतिशत सहुलियत दिनुपर्ने सुझाव दिएको मन्त्रीको भनाइ छ ।

त्यसैगरी, नेपाल फर्केर उद्यम गर्नेहरुलाई विदेशमा हुँदा पठाएको रकम बराबरै रकम निश्चित समयका लागि विना ब्याज उपलब्ध गराउने, वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने, सरकारले तोकेबाहेक अन्य तरिकाबाट वैदेशिक रोजगारीमा जान पुर्ण रोक लगाउने र वैदेशिक रोजगारीमा जान विद्यमान प्रकृयालाई सहज र सरल बनाउने उल्लेख गरेको छ


क्लिकमान्डु