पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु



काठमाडौं । पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ ।

प्याराग्लाइडिङ व्यवसायीको संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । पोखरा महानगरपालिका-१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका छन् ।

सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पुर्याउने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता व्यवसायीमा रहेको जनाउँदै यसको उचित व्यवस्थापन आवश्यक रहेको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको प्राकृतिक सौन्दर्य हिम शृङ्खला र तालको सुन्दरतालाई दृश्यवालोकन गरेर आनन्द लिन सकिने प्याराग्लाइडिङले पोखराको पर्यटन प्रर्वद्धनमा ठूलो भूमिका खेलेको बताए । उनले कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रमा विशेष सहुलियत प्याकेजसहित प्याराग्लाइडिङ उडान गरेपछि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको स्मरण गर्दै प्रतियोगितालगायत प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताए ।

प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ पुरुष र ८ महिला तथा टेन्डमतर्फ ३७ खेलाडीबीच प्रतिस्पर्धा भएको र बिहीबार बाँकी खेलबीच प्रतिस्पर्धा हुने संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ७७ प्रतियोगी छन् । त्यसमा आठ महिला पाइलट रहेका छन् ।

पोखरामा व्यावसायिकरुपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेको र करिब ३६६ प्याराग्लाइडिङ पाइलट रहेको ना अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । उनले कोभिड-१९ का कारण दुई वर्ष प्रतियोगिता स्थगित भएको जनाउँदै यस प्रतियोगिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु