आन्तरिक रोजगारी प्रवर्द्धनमा विश्व बैंकले सहयोग गर्ने



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशक लीन वेन्ज सहित प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

मन्त्रालयमा आयोजित भेटमा विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारीताका बिषयमा छलफल भएको छ । भेटमा मन्त्री श्रेष्ठले आन्तरिक रोजगारीका लागि सरकारले लिएको रणनीति कार्यान्वयनमा विश्व बैंकको सहयोग महत्वपुर्ण रहेको बताए ।

विश्व बैंकले आन्तरिक रोजगार सिर्जना गर्न गरेको सहयोग प्रभावकारी भएको बताए । बेरोजगार व्यक्तिको वैयक्तिक विवरण, ज्ञान, सीप र अनुभव, रोजगारीको सम्भाव्य क्षेत्र तथा श्रम बजारका माग र आपूर्ति पक्ष समेतको विवरण एकीकृत गरी रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नतिका लागि विश्व बैंकले सहयोग गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन दीगो रोजगारीसँग जोडने, बेरोजगार, विपन्न तथा लक्षित वर्गका लागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथा बजारको माग अनुसार रोजगारी आपुर्ति गर्नेतर्फ थप सहकार्यको जरुरी रहेको मन्त्री श्रेष्ठले बताए । सामाजिक सुरक्षा अन्तर्गत सय दिने अस्थायी रोजगारी कार्यक्रम स्थानीय तहमार्फत संचालन भइरहेको बताउँदै उनले यस कार्यक्रमले कोभिड १९ महामारीमा विपन्न समुदायलाई राहत प्रदान गरेको बताए ।

अहिले विभिन्न निकायबाट हुँदै आएका सबैखाले सीप तालिमका कार्यक्रमहरुलाई एकत्रित रुपमा संचालन गरी सीपयुक्त जनशक्ती उत्पादन गर्ने सरकारको नीति रहेको बताउँदै उनले सातै प्रदेशमा निर्माण गरिने तालिम केन्द्रका लागि विश्व बैंकबाट सहयोगको अपेक्षा गरिएको बताए ।

बिश्व बैंकका क्षेत्रीय निर्देशक लीनले सरकार, विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गरी विपन्न तथा जोखिमपूर्ण जीवनयापन गरेका नेपाली जनतालाई सहयोग गर्न बिश्व बैंक तयार रहेको बताए ।

सरकारको आन्तरिक रोजगारी प्रवर्द्धन सम्बन्धि नीति कार्यान्वयनमा बिश्व बैंकले सहयोग गर्ने लीनले बताए । युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाले विपन्‍न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तार मार्फत् श्रम बजारको परिणाममा सुधार ल्याउने उनले बताए ।

माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले नेपालमा थप रोजगारमुलक कार्यक्रम, यस सम्बन्धि नीति, क्षमता विकास तथा सेवा प्रवाहमा सुधार हुने गरी सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताए ।


क्लिकमान्डु