नियन्त्रण बाहिर बर्डफ्लू: १२ जिल्लामा संक्रमण बढ्दै, लकडाउनको तयारीमा विभाग



काडमाडौं । कुखुरामा लाग्ने रोग बर्डफ्लू नियन्त्रण बाहिर गएको सरकारी अधिकारीले बताएका छन् ।

संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा पशु सेवा विभागका महानिर्देश डा .राम नन्दन तिवारीले बर्डफ्लू संक्रमण नियन्त्रणबाहिर गएको बताए ।

उनका अनुसार गत माघदेखि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा बर्डफ्लूको संक्रमण बढेको छ । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग ,प्यारेन्ट कालिज र लौकाटमा पुष्टि भएको उनले जानकारी दिए ।

कुखुरापालन हुने देशका मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा ,मकवानपुर,धनुषा र बारामा बर्डफ्लू संक्रमण रफ्तारमा फैलिएको छ ।

पोल्ट्री व्यवसायीले समयमा नै विभागको सल्लाह मानेर पोल्ट्री लकडाउन जानुको विकल्प नभएको उनको भनाइ छ ।
नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरीले लकडाउनको प्रकृतिबारे प्रष्ट पार्न आग्रह गरे । ‘तपाईंहरुले ओसारपसार बन्द र लकडाउन भन्नुहुन्छ’ उनले भने, ‘त्यो कस्तो हो स्पष्ट पारिदिनुहुन अनुरोध छ ।’

नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष नारायणहरि खत्रीले विभागको अनुमान फितलो भएको बताए । उनले भक्तपुरको एक ठाँउमा बर्डफ्लु देखीएको तर त्यसको नजिकै अर्को फार्मले मज्जाले कुखुरा बेचीरहेको भन्दै तत्कालै बन्द गर्न आग्रह गरे ।

पोल्ट्री विज्ञ एवं नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनका आयोजना निर्देशक डा.उमेश दाहालले अहिले कुनै पनी व्यावसायीले मेरो कुखुरा मरेको छैन भनेर नबस्न सुझाव दिए । भोलीका दिनमा यस्तै अवस्था आए कुनै पनि कुखुरा नरहन सक्ने तर्फ संकेत गर्दै विभागले खाली सल्लाह मात्र नगर्न र चाडै एक्सनमा उत्रिन सुझाव दिए । उनले दाना ढुवानी नरोकी कुखुरा ओसार पसारमा केही हप्ता कडाईका साथ रोक्नु पर्ने बताए ।

नेपाल पोल्ट्री महासघका महासचिव दिनेशराज मिश्रले नेपालमा फैलिएको बर्डफ्लूको क्षति ठूलो हुने उल्लेख गर्दै पूर्वतयारीमा जोड दिन आग्रह गरे ।

पशु चिकित्सक डा.मोदनाथ गौतमले यसको रोकथामका लागि पहिले नै ढुवानी रोक्न सल्लाह दिए । पूर्व तयारीमा ढिलाइ भएकाले सरोकारवालासँग छलफल गरेर विभागमा आउन उनले आग्रह गरे ।


क्लिकमान्डु