मोक्ष मुस्ताङ रिसोर्टको व्यवस्थापन शिन्ता मणि होटल्सले गर्ने, एक रातको शुल्क १ लाख ८० हजार



काठमाडौं । शेर्पा हस्पिलाटिली ग्रुप अन्तर्गत सञ्चालन भइरहेको मुस्ताङको मोक्ष होटलको व्यवस्थापन शिन्ता मणि होटल्सले गर्ने भएको छ ।

विश्वका विभिन्न स्थानमा लक्जरियस होटल सञ्चालन गर्दै आएको कम्पनीले अब नेपालमा पनि होटल सञ्चालन गर्ने भएको हो । यति समूह अन्तर्गत सञ्चालित विभिन्न होटलमध्ये मोक्ष होटल पनि एक हो ।

शेर्पा हस्पिटालिटी ग्रुपका लाक्पा सोनाम शेर्पाका अनुसार कोभिडका कारण लामो समयसम्म बन्द भएको मोक्ष होटलको व्यवस्थापनको जिम्मेवारी अब शिन्ता मणि होटल्सले गर्नेछ । यसका लागि केही समय अघि सम्झौता भएको थियो ।

मोक्ष होटल समुन्द्री सतहबाट २८ सय मिटरको उचाइ तथा कालिगण्डकीको छेउमा मुस्ताङको जोमसोममा अवस्थित छ ।

करिब १ सय करोड रुपैयाँ लगानी भएको मोक्ष होटलमा हाइ हिल होटलका रुपमा सञ्चालन गरिएको छ । जहाँ सबै प्रकारका सेवा सुविधा उपलब्ध गराइएको छ । जहाँ एक रात बस्नका लागि एक जनाका लागि हाल ३७५ डलर खर्च लाग्छ । साथै, ट्विन सेयरिङ गर्दा थप २ डलर खर्चनुपर्छ । शिन्तामणि होटल्सको व्यवस्थापनपछि एक रात बसेको शुल्क १५०० डलर अर्थात् १ लाख ८० हजार रुपैयाँ खर्च लाग्नेछ ।

शिन्ता मणि होटलले पछिल्लो समय कम्बोडियामा पनि लक्जरियस होटल सञ्चालन गर्दै आएको छ ।

सोनाम शेर्पाका अनुसार शिन्तामणीले सञ्चाल गर्ने लक्जरियस होटलहरुमा एक रातकै ३ हजार डलरसम्म चार्ज लाग्ने होटलहरु पनि छन् ।

मोक्ष होटलका सीइओ नामग्याल शेर्पाले शिन्ता मणि होटल्सको व्यवस्थापनमा आगामी अक्टोबरदेखि सञ्चालनमा आउने बताए ।

‘कोभिड महामारीको २ वर्ष हाम्रा लागि निकै चुनौतीपूण रह्यो, तर अब होटललाई नयाँ ढंंगले सञ्चालन गर्ने योजना बनाएका छौं । सोही अनुसार शिन्ता मणि होटल्ससँग सहकार्य गरिएको हो’ उनले भने ।

शिन्ता मणि होटल्सका निर्देशक समेत रहेको आर्किटेक्चर बिल बेन्स्लीले मोक्ष होटलले हेलिकोप्टरबाहेकका सबै सेवा सुविधा उपलब्ध गराइने बताए ।

साथै अर्को निर्देशक जोसन फ्राइडम्यानले आफू नेपालमा पछिल्लो ३० वर्षदेखि भ्रमण गरिरहेको र नेपालमा पनि प्रोजेक्ट गर्ने रहर पलाएको बताए ।

शिन्ता मणि होटल्सले कम्बोडियाको बीच जंगलमा शिन्तामणी वाइल्ड नाममा लक्जरी होटल सञ्चालन गरिरहेको र सोही मोडल नेपालमा ल्याउन लागेको उनको भनाइ छ ।

‘हामीले पाहुनाहरुलाई हेलिकोप्टरबाहेकका सबै हवाई उडान, यातायातदेखि सबै खालका सेवा सुविधा उपलब्ध गराउने छौं,’ उनले भने ।

उनले मुलुकमा धेरै पर्यटकभन्दा पनि धेरै खर्च गर्ने पर्यटक ल्याउनु पर्ने र मोक्ष होटलले अब सो दायित्व पूरा गर्ने बताए ।

मुस्ताङको मोक्ष होटलले हाल आतित्थ्यता साथै हर्स राइडिङ, साइकिलिङ, रक क्लाइमिङ, आर्चरी, हाइकिङ, ट्रेकिङ, योगोलगायतका सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

ग्रुप अन्तर्गत हाल लुम्बिनीको होक्के, चितवनको कासारा, केर एण्ड डोवने, मोक्ष मुस्ताङको रिसोट तथा यति माउण्टेन होम लगायतका १७ वटा प्रिमियम होटल सञ्चालनमा छन् । साथै अन्नपूर्ण र एभरेष्ट जाने बाटोमा पनि कैयन होटल तथा रिसोर्ट सञ्चालनमा छन् ।


क्लिकमान्डु