पशु मर्यो, बाली बिग्रियो तर बीमा रकम पाइएन भन्ने गुनासा आउनु भएनः अध्यक्ष सिलवाल



काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिन समयमा नै दाबी भुक्तानी गर्न आग्रह आग्रह गरेका छन् ।

बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र बीमा सर्भेयर संघ, नेपालका पदाधिकारीहरूसँग बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बजारमा विश्यवसनियता बढाउनका लागि कम्पनीहरुलाई समयमा नै भुक्तानी गर्न आग्रह गरेका हुन् ।

बीमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कन गरेर बीमा कम्पनीबाट समयमा नै दाबीको भुक्तानी भयो भने बीमा बजारमा विश्वास बढ्ने र बीमाको दायरा समेत उनको भनाइ छ ।

आगामी १० वर्षमा वित्तीय क्षेत्रमा बीमा क्षेत्र सबैभन्दा अगाडि हुने उनले बताए ।

‘प्रत्येक वर्ष बीमाको कारोवार बढ्दै गएको छ, जोखिमका प्रकार बढ्दै छन्, बीमाको दाबी बढेको छ, बीमा सर्भेयर क्षति मूल्यांकनका लागि समयमा नगएका धेरै गुनासा आएका छन्,’ अध्यक्ष सिलवालले भने, ‘सर्भेयरको व्यवहार राम्रो भएन भन्ने पनि गुनासा छन् । बीमा सर्भेयरले आफूले लिएको क्षति मूल्याङ्कनको जिम्मेवारी समयमा नै पूरा गर्नु पर्यो ।’

पीडितले समयमा नै बीमा रकम पाउनु पर्ने उनको भनाइ छ ।

‘कमी कमजोरीलाई सुधारेर अगाडि बढ्नु प¥यो । पशु मर्यो, बाली बिग्रियो बीमा रकम पाइएन भन्ने गुनासा आउनु भएन,’ उनले भने ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरहरू स्वतन्त्र भएकाले स्वतन्त्ररूपले क्षति मूल्यांकन प्रतिवेदन तयार गरी छिटोभन्दा छिटो बीमा कम्पनीमा बुझाउनुपर्ने बताए ।

सर्भेयरले क्षति मूल्यांकनको पूर्ण प्रतिवेदन बुझाउन समय लाग्ने भए तत्काल प्रारम्भिक प्रतिवेदन बीमा कम्पनीमा बुझाउनुपर्ने बताए । बीमा सर्भेयरले प्रतिवेदन बुझाएपछि समयमै सर्भे फी पनि भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरे ।


क्लिकमान्डु