राष्ट्र उत्थान र इमर्जिङ नेपालले यसरी बनाउँदै छन् लगानीकर्तालाई मालामाल



काठमाडौं । सेयर बजारमा निरन्तरको गिरावट कायमै छ । तर अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्दै गर्दा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर मूल्य भने निरन्तर उकालो लाग्दै गएको छ । दुबै कम्पनीको सेयर मूल्यमा निरन्तर सकारात्मक सर्किट लागिरहेको छ ।

राष्ट्र उत्थान लघुवित्त फागुन २६ गते सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भइ फागुन २९ गतेदेखि सेयर दोस्रो बजारको कारोबार सुरु भयो । कम्पनीको पहिलो कारोबार ५०२ रुपैयाँमा भयो ।

त्यसयता कम्पनीको सेयरमा निरन्तर उकालो लागिरहेको छ । निरन्तर १० प्रतिशतको सकारात्मक सर्किट लाग्दा लगानीकर्ता मालामाल बनिरहेका छन् । बिहीबारसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३१९ रुपैयाँ ५० पैसा पुगेको छ ।

कम्पनीको १० कित्ता सेयर हुने अर्थात् एक हजार रुपैयाँ लगानी गरेका लगानीकर्ताको सम्पतीको मूल्य अहिले बढेर १३ हजार १९५ रुपैयाँ पुगेको छ । यसमा लगानीकर्ताले गरेको लगानी बाहेक १२ हजार १९५ रुपैयाँ कमाएका छन् ।

राष्ट्र उत्थानले फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । २६ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको बजार पुँजीकरण ३ अर्ब ४३ करोड ७ लाख रुपैयाँ रहेको छ ।

यस्तै इमर्जिङ नेपालका लगानीकर्ता पनि यो अवधिमा मालामाल बनेका छन् ।

कम्पनीको सेयर नेप्सेमा फागुन २० गते सूचीकृत भयो । कम्पनीको पहिलो कारोबार २८७ रुपैयाँमा भएको थियो । कम्पनीको सेयर मूल्यमा निरन्तर सकारात्मक सक्रिट लागिरहेको छ ।

समग्र बजार घटेको समयमा पनि कम्पनीका लगानीकर्ता मालामाल बनिरहेका छन् । बिहीबारसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२२४ रुपैयाँ ८० पैसा रहेको छ ।

कम्पनीको १० कित्ता सेयर हुने अर्थात् एक हजार रुपैयाँ लगानी गरेका लगानीकर्ताको सम्पतीको मूल्य अहिले बढेर १२ हजार २४८ रुपैयाँ पुगेको छ । यसमा लगानीकर्ताले ११ हजार २४८ रुपैयाँ कमाएका छन् ।

इमर्जिङ नेपालले माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्काशन गरेको थियो । ५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको बजार पुँजीकरण ६ अर्ब ८० करोड ४९ लाख ८८ हजार ८०० रुपैयाँ रहेको छ ।


क्लिकमान्डु