डेटा बिक्री गर्ने नेप्सेको विनियमावली सेबोनमा, क-कसले पाउँछन् किन्न ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफूसँग भएको डेटा बिक्री गर्नका लागि बनाएको विनियमावली नेपाल धितोपत्र बोर्डमा पुगेको छ ।

नेप्सेले गत माघ दोस्रो साता आफूसँग भएको डेटा बिक्री गर्न भन्दै बिनियमावली बनाएर सेबोनमा पठाएको थियो ।

बोर्डले उक्त व्यवस्थालाई ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली-२०७५’ मा नै समावेश गर्ने तयारी गरेको छ ।

विनियमावलीको तेस्रो संशोधनमा डेटा बिक्रीको व्यवस्था पनि समावेश गर्ने भएको छ । जसमा नेप्सेमा भएका विभिन्न तथ्याङक बिक्री गर्ने बारे उल्लेख छ ।

विनियमावली पास भएपछि नेप्सेले आफूसँग भएका डेटा बिक्री गर्न पाउने छ । त्यसका लागि क्षेत्रअनुसार शुल्क निर्धारण गरिने नेप्सेले जानकारी दिएको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेप्सेको वेवसाइटमार्फत् लगानीकर्ताले पाउने डेटा भने किन्नु पर्दैन् ।

‘लगानीकर्ताले कुनै पनि डेटा किन्नु पर्दैन, त्यो सबैले पाउँछन् र शुल्क तिर्नुपर्दैन,’ उनले भने ।

तर कुनै कम्पनी वा विश्वविद्यालयलगायतले नेप्सेमा भएका पुराना डेटाहरु प्रयोग गर्न चाहेमा, रियल टाइममा डेटा लिन चाहिएमा भने शुल्क बुझाउनु पर्ने हुन्छ ।

नेप्सेले यस्तो डेटा इन्भेष्टमेन्ट कम्पनी, डेटा भेन्डर, सञ्चार माध्यम तथा विश्वविद्यालय लगायतलाई बिक्री गर्ने योजना बनाएको छ ।
डेटा चाहिने निकायलाई वर्गीकरण गरेर बिक्री गरिनेछ । शुल्कबारे पनि विनियमावलीमै उल्लेख गरिने पराजुलीले बताए ।

नेप्सेले इन्भेष्टमेन्ट कम्पनीका लागि सबैभन्दा धेरै शुल्क तोक्ने प्रस्ताव गरेको छ । साथै, डेटा भेन्डर कम्पनीले पनि शुल्क बुझाउनुपर्ने छ ।

त्यसबाहेक सञ्चारमाध्यमले रियल टाइम डेटा चाहिए शुल्क बुझाउनुपर्नेछ । विश्वविद्यालयले अध्ययन तथा अध्यापन प्रयोजनका लागि न्यून शुल्क तिरेर डेटा लिन सक्ने व्यवस्था गर्न लागिएको छ । डेटा बिक्री गर्ने अभ्यास विदेशमा पनि रहेको पराजुलीको भनाइ छ ।

‘डेटा बिक्रीको चलन विदेशमा पनि छ, स्टकको सम्पत्ति बिक्री गरी आम्दानी गर्न खोजिएको हो,’ उनले भने ।


क्लिकमान्डु