बीमा समितिले नयाँ कम्पनी दर्ता नगर्ने, पुँजी पुर्याउन नसके मर्जरमा जान अध्यक्षको सुझाव



काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीलाई तोकिएको समयमा पुँजी पुर्याउन नसके मर्जरमा सुझाव दिएका छन् ।

बीमा समितिको कार्यालयमा बीमा कम्पनीका अध्यक्षहरूसँग भएको छलफलमा अध्यक्ष सिलवालले समितिले नयाँ कम्पनीहरू दर्ता नगर्ने स्पष्ट पार्र्दै तोकिएको पुँजी पुर्याउन नसके मर्जरमा जान सुझाव दिएका हुन् ।

बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरिएको अध्यक्ष सिलवालको भनाइ छ ।

सिलवालले धेरै लामो गृहकार्य गरेर बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरिएको बताए ।

‘बीमा कम्पनीहरूको पूँजी कम छ, कम्पनीहरूको मुनाफा घट्दैछ, प्रशासनिक लागत बढ्दैछ, बीमाको दायरा बढ्दै गएको छ, कम्पनीहरूको दक्षता बढ्न सकेको छैन,’ अध्यक्ष सिलवालले भने ।

उनले बीमा कम्पनीलाई बलियो बनाउने कार्यको यो शुरूवात भएको बताए ।

‘पुँजी वृद्धिको योजना धेरै अघिदेखिको हो, यो सबैको हितमा आएको छ र यसमा केही अप्ठ्यारो परे त्यो फुकाउन समिति तयार छ,’ उनले भने ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले प्रस्तुत गर्ने चुक्ता पुँजी वृद्धिको योजनामाथि छलफल गरेर देखिएका अप्ठ्यारा फुकाउन समिति तत्पर रहेको बताए ।


क्लिकमान्डु