कोरोना महामारीका २ वर्षमा विनोद चौधरीको सम्पत्ति १६ अर्ब रुपैयाँले बढ्यो



काठमाडौं । २०७६ साल चैत १० गते विनोद चौधरीको सम्पत्ति जम्मा १ अर्ब ४० करोड अमेरिकी डलर अर्थात् १ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ थियो । अहिले चौधरीको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलर अर्थात् १ खर्ब ८१ अर्ब ५० करोड नेपाली रुपैयाँ बराबरको सम्पत्ति छ ।

कोरोना महामारीको दुई वर्षमा चौधरीको सम्पत्ति १६ अर्ब रुपैयाँले बढेको छ । चौधरीको सम्पत्ति बढ्नमा केही सहयोग डलरको भाउले पनि गरेको देखिन्छ । यो अवधिमा १० करोड अमेरिकी डलरले मात्रै चौधरीको सम्पत्ति बढेको भएपनि डलरको भाउ बढ्दा नेपाली रुपैयाँमा भने १६ अर्बले बढेको छ ।

चौधरी विश्वविख्यात म्योगेजिन फोर्ब्समा सूचिकृत डलर अर्बपतिको सूचिमा पर्ने पहिलो र हालसम्मका एक्लो नेपाली व्यवसायी हुन् ।

प्रत्येक वर्षको मार्च महिनामा धनीहरुको सूची सार्वजनिक गर्ने फोर्ब्सले वास्तविक समय (रियल टाइम)मै विश्वका कुन धानड्को सम्पत्ति कति छ, कति घटबढ भइरहेको छ भन्ने तथ्यांक उपलब्ध गराउँछ ।

सन् २०१३ मा फोर्ब्सको अर्बपतिको सूचिमा सूचिकृत भएपछि चौधरीको सम्पत्ति भने एक वर्ष बाहेक हरेक वर्ष बढेको थियो ।

फोर्ब्सको रियल टाइमको सूचिमा सम्पत्ति बढेपनि धनी व्यक्तिको सूचीमा चौधरी २६८ स्थान पछाडि पुगेका छन् । अन्य अर्बपतिहरुको सम्पत्ति चौधरीकोभन्दा बढीले बढ्दा उनी २६८ स्थान पछाडि धकेलिएर विश्वका १९१७औं धनी व्यक्ति बन्न पुगेका छन् । ०७६ को चैत १० गते चौधरी विश्वका १६४९औं धनी व्यक्ति थिए ।

फोर्ब्सको धनीहरुको सूचीमा हुने फेरबदलले नै आफ्नो व्यवसाय कता गइरहेको छ भन्ने ब्यारोमिटर भएको उनको भनाइ छ ।

‘फोर्ब्सले सम्पत्ति घटेको सूचि निकाल्दा साह्रै चोट पर्छ नि,’ चौधरीले भने, ‘बढेको निकाल्दा साह्रै खुसी लाग्छ ।’


क्लिकमान्डु