नेपालका सम्पदा आफ्नै स्रोतबाट पुननिर्माण र व्यवस्थापन गर्न सकिन्छ: मेयर शाक्य



लुम्बिनी । लुम्बिनीमा निर्माण भएको बज्रयान विहारको कलात्मक सौन्दर्य बढाउन काठमाडौँ महानगरपालिकाले १ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले नेपाल परम्परागत बौद्ध धर्म, संघ लुम्बिनीको अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यलाई उक्त सहयोग रकममध्ये ६० प्रतिशत रकमको चेक पहिलो चरणमा प्रदान गरेका छन् । गत कात्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले विहार उद्घाटन गरिकी छिन् ।

विहार बनाउन अहिलेसम्म करिब १६ करोड रुपैयाँ खर्च भएको छ । यसलाई योजनाअनुसार पूर्ण गर्न थप ४ करोड लगानी चाहिन्छ । यसमध्येको १ करोड ५० लाख रुपैयाँ महानगरले उपलब्ध गराएको हो ।

लुम्बिनी विकास कोषको गुरुयोजनामा, नेपालको सम्पदा विम्बित गराउने उद्देश्यले बज्रयान विहार निर्माण गरिएको हो । यसको निर्माणका लागि काठमाडौँ महानगरपालिकाले यस अघि ४ करोड २९ लाख १८ हजार रुपैयाँ प्रदान गरिसकेको छ ।

सहयोग रकम प्रदान गर्दै मेयर शाक्यले, नेपालमा निर्माण हुने विहारमा नेपालकै लगानी हुनुपर्ने बताए । ‘विदेशीले बनाएका विहारको शैलीमा नेपालीपन हुँदैन । नेपाली शैलीका विहार आफ्नै लगानीमा गर्नुपर्छ भनेर हामीले सहयोग गरेका हौँ’ मेयर शाक्यले भने, ‘हामीले लुम्बिनी सांस्कृतिक नगरसँग समन्वय गरेर सहयोग गरेका हौँ । काठमाडौँ केन्द्रीय राजधानी सहर भएकोले आफ्नो क्षेत्रबाहिर गएर पनि सहयोग गर्नुपर्छ । यसरी सहयोग गर्दा त्यहाँका पालिकासँग समन्वय गरेर काम गरेका छौँ ।’ बाँकी सहयोग रकम कामको प्रगतिका आधारमा दिइने मेयर शाक्यले बतााए ।

कार्यक्रममा बौद्ध धर्म संघका अध्यक्ष प्रा. डा. बज्राचार्यले, शुभ कार्यका लागि दही ग्रहण गरेजस्तै महानगरले दिएको सहयोग रकम आफ्ना लागि सगुन भएको उल्लेख गरे । ‘नेपालमा आफैले विहार बनाउनु हाम्रो दायित्व थियो । तर, गएको ३ सय ७२ अघिदेखि नेपाली बौद्धकला, बास्तुकलाले भरिएको विहार बनेको थिएन’ उनले भने ‘महानगरको सहयोगबाट ३७२ बर्षअघिको निर्माण सम्बन्ध जोडियो ।’


क्लिकमान्डु