फर्कियो सेयर बजार, ४ कम्पनीको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । केही समययता निरन्तर घटिरहेको बजारमा बुधबार भने केही सुधार देखिएको छ । इन्डेक्समा सुधार देखिएको भएपनि कारोबार रकममा धेरै उत्साह देखिएको छैन ।

बुधबार बजार मापन गर्ने सूचक ४०.६८ अंकले बढेर परिसूचक २५६८.२५ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.१३ अंकले बढेर ४८०.०६ बिन्दुमा पुगेको छ ।

२३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता सेयर २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा हरियाली आउँदा सबै समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको ३.८३, विकास बैंक १४४.३५, जलविद्युत ७३.९८, वित्त ६६.३, निर्जीबन बीमा १९१.२, माइक्रोफाइनान्स ७१.०२, जीवन बीमा समूहको उपसूचक २११.४ अंकले बढेको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, सामालिङ पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ ।

कम्पनीको ११ करोड २७ लाख २३ हजार ४०६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा प्रभु इन्स्योरेन्सको संस्थापक सेयर र नबिल बैंक रहेको छ । प्रभुको १० करोड ९२ लाख ३१ हजार २९८ रुपैयाँ र नबिल बैंकको १० करोड ९ लाख ९८ हजार ६३२ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु