नेपालका लागि अमेरिकाकी राजदूतमा थम्सन प्रस्तावित



वाशिङटन डिसी । अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ ।

लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्बर १५ देखि अमेरिकाको परराष्ट्र सेवामा दक्षिण तथा मध्य एसियाका लागि मुख्य सहायकमन्त्रीको भूमिकामा कार्यरत छन् ।

उनको नियुक्तिलाई सिनेटले अनुमोदन गरेपछि नेपालका लागि राजदूत नियुक्त हुने व्यवस्था रहेको छ ।

परराष्ट्र सेवामा लामो समय काम गरेका थम्सनको राजदूतको भूमिकामा नियुक्त भएको पहिलो पटक हो ।

यसअघि उनीसँग मलेसियाको राजधानी क्वालालम्पुरमा चिफ अफ मिशन भएर काम गरेको अनुभव छ । उनले रोमानियाका लागि उपनियोग प्रमुख भएर काम गरिसकेका छन् ।

अमेरिकी विदेशमन्त्रीहरुलाई सिधा सहयोग, चौबिसै घण्टा खुला हुने अपरेशन सेन्टर लगायतका विभिन्न इकाइमा बसेर देश सेवा गरेका थम्सनले परराष्ट्र सेवाभन्दा अघि रक्षा मन्त्रालय मातहत रहेर काम गरेको समेत अनुभव छ ।

युनिभर्सिटी अफ मेरिल्यान्डको पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेशनल सेक्युरिटी स्टडीमा स्नातकोत्तर गरेका छन् ।


क्लिकमान्डु