कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा



काठमाडौं । मुलुकको प्रमुख जीवन बिमा कम्पनी प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय बिस्तारबाट अझ बढी सर्वसाधारणको पहुँचमा बिमा सेवा पुर्याउन, सर्वसाधारणलाई जीवन बिमाको महत्व बुझाउन र बीमितले सहज रुपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन सहज हुने कम्पनीको अपेक्षा छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सीइओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइमलाइफ बन्ने लक्ष्यमा अघि बढिरहेको बताए । यसले बीमितलाई घरैमा बसेर बीमालेख खरिद गर्न र सुरक्षित रुपमा बीमा शुल्क भुक्तानी गर्न मद्दत गर्ने उनको विश्वास छ ।

उनले हालको परिस्थितिमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिनुपर्नेमा पनि जोड दिए । सीइओ भट्टराईले लेखनाथ कार्यालयलाई बीमा शुल्क उठाउनेमा मात्र सीमित नराखी बीमासम्बन्धी जागरण फैलाउने काममा पनि परिचालन गर्ने बताए ।

आगामी दिनमा कम्पनीले ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएका सीइओ भट्टराईले कम्पनीले ग्राहकमैत्री सेवामा जोड दिएकै कारण उनीहरुमा कम्पनीको सेवाप्रति सन्तुष्टिको स्तर बढिरहेको बताए ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७८ करोड छ भने जीवन बीमा कोषमा १६ करोड ६० लाख रुपैयाँ छ ।


क्लिकमान्डु