मोरङका उद्योगीले भने- १४ घण्टाको लोडसेडिङले उद्योग बन्द हुने अवस्थामा पुगे



काठमाडौं । उद्योगहरुमा एक सातादेखि १४ घण्टासम्म अघोषित लोडसेडिङ भएको प्रति आफूहरुको ध्यान आकर्षण भएको मोरङका व्यवसायीहरुले बताएका छन् । मंगलबार उद्योग संगठन मोरङ र मोरङ व्यापार सं)घ तथा नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको हस्ताक्षर भएको विज्ञप्तिमा छिटोभन्दा छिटो विद्युत् आपूर्ति सहज बनाउन माग समेत गरिएको छ ।

‘गत २ वर्षदेखि कोभिडको महामारीका कारण निम्तिएको वित्तीय संकट, बढ्दो बयाजदरका कारण उद्योग चलाउन नसक्ने अवस्थामा पुगेको अवस्थामा अहिले १४ घण्टासम्म लोडसेडिङ भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित निकाय गम्भीर भइ तत्काल विद्युत आपूर्ति सहज हुनुपर्छ ।’

यदि आपूर्ति सहज नहुने हो भने सम्पूर्ण उद्योगहरु बन्द हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।

‘पछिल्लो समय सरकार तथा प्राधिकरणका पदाधिकारीहरु उद्योगमै पुगेर चाहिए जति विद्युत् दिन्छौं भने पनि आज आएर एक्कासी मूल्य वृद्धि भयो विद्युत् आयात गर्न सकिएन भन्नु उर्जाको वास्तविक अवस्थाका बारे जनतालाई अध्याँरोमा राख्नु हो,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

गत साता मात्रै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुनसुकै मूल्यमा भएपनि उद्योग व्यवसाय क्षेत्रलाई विद्युत् उपलब्ध गराउने, लोडसेडिङ नगर्ने भनि दिएको आवश्वासन दिए पनि १२ घण्टा विद्युत् कटौती भइरहेको उनीहरुको भनाइ छ ।

जसले गर्दा पदाधिकारीको विश्वनियतामा प्रश्न चिन्ह खडा भएको उनीहरुले आरोप लगाएका छन् ।

‘विद्युतको भाउ वृद्धि भएको जनाई कटौति गर्न नमिल्ने, उद्योगलाई आवश्यक विद्युत् उपलब्ध गराउने दायित्वको सरकारको हो,’ उनीहरुले भनेका छन्, ‘मूल्य कति पर्छ भन्ने विषय सरकारको भएकाले उद्योग व्यवसाय सञ्चालन गर्न आवश्यक विद्युत् नियमित आपूर्ति गरिनु पर्दछ भन्ने हाम्रो माग छ ।’


क्लिकमान्डु