१५९ वटा देशसँग नेपालको वैदेशिक व्यापार, २८ वटासँग मात्रै नाफामा



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालले १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । नेपालले ८ महिनाको अवधिमा सो रकम बराबरको वैदेशिक व्यापार गरेको हालसम्मकै उच्च हो ।

नेपालले साउनदेखि फागुन मसान्तसम्ममा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको आयात गर्दा १ खर्ब ४७ अर्ब ७४ कोड ६० लाख रुपैयाँ बराबरको निर्यात गर्न सफल भएको छ ।

पछिल्लो समय उच्चरुपमा आयात भएकाले ८ महिनाको अवधिमै नेपालले ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

नेपालले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा १५९ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ । उक्त व्यापार गरेकोमध्ये न्यून देशसँग मात्रै घाटा व्यहोरेको छैन । नेपालले वैदेशिक व्यापार गरेकोमा २८ वटा देशसँग मात्रै घाटा नव्यहोरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

भन्सार विभागको तथ्याङ्कअनुसार घाटा नव्यहोरेको देशसँग पनि निकै कम मूल्य बराबरको रहेको छ । नेपालले सो अवधिमा सबैभन्दा बढी वैदेशिक व्यापारबाट डेनमार्कसँग नाफा कमाउन सफल भएको छ ।

नेपालले डेनमार्कबाट ३७ करोड २० लाख रुपैयाँ बराबरको आयात गर्दा नेपालबाट भने ५१ करोड ३९ लाख रुपैयाँको निर्यात गर्न सफल भएको थियो । जसमा सो देशसँग नेपालले १४ करोड १९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

त्यसैगरी, नेपालले कम्बोडियासँग १३ करोड ७२ लाख रुपैयाँ र अल्जेरियासँग ६ करोड ४६ लाख रुपैयाँ मूल्य बराबरको बढी नाफा कमाएका छन् । त्यस्तै, अन्य देशहरूसँग नेपालले ५ करोडभन्दा कम मूल्य बराबरको बढी निर्यात गरेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

नेपालले अफगानिस्तान, माल्टा, यमन, अर्मेनिया, मोनाको, माल्दिभ्सलगायत गरी २८ वटा देशसँग नेपालले घाटा व्यहोरेको छैन ।

यी हुन् नेपालले सबैभन्दा बढी व्यापारघाटा व्यहोरेका देश

नेपालले ८ महिनाको अवधिमा ११ खर्ब रुपैयाँको व्यापारघाटा व्यहोर्दा सबैभन्दा बढी छिमेकी मुलुक भारतसँग मात्रै ६ खर्ब ७८ अर्ब ४० करोड ३९ लाख रुपैयाँ रहेको छ । आयात तथा निर्यातको ठूलो हिस्सा ओगटेको भारतसँग नेपालले हरेक वर्ष खर्बौ रुपैयाँ घाटा व्यहोरेको सरकारी तथ्याङ्क छ ।

नेपालले फागुन मसान्तसम्ममा ७ खर्ब ९७ अर्ब २४ करोड १६ लाख रुपैयाँको आयात गर्दा १ खर्ब १८ अर्ब ८३ करोड ७६ लाख रुपैयाँको निर्यात गर्न सफल भएको छ ।

भारतपश्चात चीनसँग सोही अवधिमा नेपालले १ खर्ब ८५ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

त्यस्तै, इन्डोनेसियासँग ३७ अर्ब ६४ करोड ३१ लाख, युएईसँग ३५ अर्ब ६४ करोड २७ लाख, अर्जेटिनासँग ३१ अर्ब ३२ करोड ८५ लाख, अमेरिकासँग २३ अर्ब २२ करोड २७ लाख, युक्रेनसँग १८ अर्ब ४ करोड ८६ लाख, अष्ट्रेलियासँग १७ अर्ब २० करोड २८ लाख, मलेसियासँग १२ अर्ब ६१ करोड ४९ लाख रुपैयाँ र ब्राजिलसँग ९ अर्ब ५२ करोड १० लाख रुपैयाँ घाटा व्यहोरेको छ ।


क्लिकमान्डु