प्रधानमन्त्री बनेपछि पहिलो पटक भारत भ्रमणमा जाँदै देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी शुक्रबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्मका लागि भारत भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री देउवासहित परराष्ट्रमन्त्री डा नारायण खड्का, अन्य मन्त्री, सचिव तथा विभिन्न अधिकारीहरु सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ हुने विश्वास लिएको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले चैत १९ गते हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । भारतका प्रधानमन्त्रीले प्रधानमन्त्री देउवा र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गर्ने भएका छन् ।

त्यसैगरी, प्रधानमन्त्री देउवासँग विदेशमन्त्री एस जयशङ्कर तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेट गर्नेछन् । नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री देउवाले व्यापारी समुदायको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चैत २० गते काठमाडौँ फर्कनुअघि प्रधानमन्त्रीले वाराणसीको भ्रमण गर्ने कार्यक्रम रहेको छ । गत असारमा वर्तमान सरकारको नेतृत्व लिएपछि प्रधानमन्त्री देउवा पहिलो द्विपक्षीय विदेश भ्रमणमा जान लागेका हुन् ।


क्लिकमान्डु