अर्थ समितिको बैठकमा आउनै छाडे सांसद, नीति निर्माणमा बेवास्ता



काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथी छलफल गर्न आयोजित अर्थ समितिको बैठक सांसद नै नआएपछि बैठक स्थगित भएको छ ।

सोमबार अर्थ समितिले राष्ट्रिय योजना आयोगसँग आगामी आर्थिक वर्षको बजेट माथी छलफल गर्न बैठक बोलाएको थियो । बैठकमा ४ जना मात्रै सांसद उपस्थित भएपछि कोरम नपुगेको भन्दै बैठक स्थगित गरिएको हो ।

बैठकमा योजना आयोगका तर्फबाट सचीव केवलप्रसाद भण्डारी उपस्थित भए पनि आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल भने उपस्थित थिएनन् ।

आइतबारको अर्थ समिति बैठकमा पनि सांसदको न्यून उपस्थिती रहेको थियो । आइतबार अर्थ समितिले बैंकर्स संघ र लगानी बोर्डसँग छुट्टा छुट्टै छलफल गरेको थियो । आइतबारको बैठकमा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, तुलसा थापा र रामबाबु यादव मात्रै बैठकमा उपस्थित थिए ।

सोमबारको बैठकमा पनि धनश्याम भुसाल, मेटमणी चौधरी सहित अरू जना सदस्य उपस्थित भएका थिए । समिति सभापति कृष्णप्रसाद दाहालले निर्वाचन माहोल सुरू हुँदा बैठकमा सांसदहरू उपस्थित नभएको बताए ।

समिति बैठकमा सांसदहरू उपस्थित हुन छोडेपछि सोमबार (आज) दिउँसो अर्थ मन्त्रालयसँग राखिएको छलफल पनि स्थगित गरिएको छ।

बजेटमा समितिको सुझाव भन्दा मन्त्री र विभिन्न मन्त्रालयका कर्मचारीको बिचार हावी हुने हुँदा सांसदले समितिको बैठकलाई महत्त्व नदिएको अर्थ समितिका अधिकारी बताउँछन् ।


क्लिकमान्डु