झोलुङ्गे पुल बनेपछि आन्तरिक र बाह्य पर्यटकलाई भ्रमण गर्न सजिलो भयोः ऊर्जामन्त्री भुसाल



काठमाडौं । ललितपुर महानगरपालिका–२२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ ।

कार्यविनायक र मछिन्द्र बहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको झोलुङ्गे पुलको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी छिन् ।

पुलको लम्बाई १३५ मिटर रहेको छ भने यसको लागत ७९ लाख ७६ हजार ७८९ रुपैयाँ रहेको छ । कार्यविनायक र मछिन्द्रवहाललाई जोड्ने उक्त पुल निर्माणपछि दोहोरो पर्यटन प्रवर्धनमा सघाउ पुग्ने विश्वास स्थानीयको रहेको छ ।

उक्त स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल पुग्ने पर्यटक एकअर्को स्थानमा जान कठिनाइ थियो । पुल बनेसँगै छोटो अवधिमा दुवै स्थानमा पुग्न सकिने भएको छ । पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटकलाई दुवैस्थानको भ्रमणका लागि सहजीकरण हुने स्थानीयको भनाइ छ ।

त्यस क्षेत्रमा पर्यटकीय गतिविधि बढेसँगै स्थानीयको आयआर्जनमा महत्वपूर्ण सघाउ पुग्ने, विदेशी पर्यटकको आगावगमनले नेपालको हस्तकला, काष्ठकला तथा मूर्तिकलाको विश्वव्यापीकरणमा सहयोग मिल्ने छ । मन्त्री भुसालको पहलमा स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेटबाट सो पुल निर्माण गरिएको हो ।

पुल उद्घाटन गर्दै मन्त्री भुसालले धार्मिक तथा पर्यटकीय केन्द्रलाई जोड्ने उक्त पुलले नेपालको हस्तकला, काष्ठकला र मूर्तिकलाको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । बाह्य र आन्तरिक पर्यटन प्रवर्धनमा पनि उक्त झोलुङ्गे पुल कोशेढुंगा सावित हुने बताइन् । मन्त्री भुसालले आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गर्दै ‘एक घर, एक पर्यटक’ अभियान चलाउन स्थानीयवासीसँग आग्रह गरिन् ।

‘यसबाट आयआर्जनका साथै नेपालको कला संस्कृतिको प्रवर्धनमा टेवा पुग्छ’ उनले भनिन् ‘स्थानीय उत्पादनको बजारीकरण गर्न पनि यसले सघाउ पुर्याउँछ ।’


क्लिकमान्डु