नयाँ श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने क्रम घट्दो, फागुनमा ५३ हजार विदेशिए



काठमाडौं । पछिल्लो समय कोरोना महामारी कम हुँदै गएको अवस्थामा वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या भने घट्दो अवस्थामा रहेको छ ।

कोभिड कारण निकै थलिएको वैदेशिक रोजगारी केही महिनाअघिसम्म नयाँ श्रम स्वीकृति लिई विदेश जानेको संख्या उल्लेखनीय थियो । तर, पछिल्लो महिनाहरूमा नयाँ श्रम स्वीकृति लिई जानेको संख्या घट्दै गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँदछ ।

चालु आर्थिक वर्षको शुरुवातीबाट विस्तारै तंग्रिँदै गएको देखिन्छ । तर, मासिक रुपमा बढ्दै जानुपर्ने अवस्थामा माघ र फागुनमा घट्दै गएको छ ।

विभागका अनुसार फागुन महिनामा नयाँ श्रम स्वीकृति लिएर २७ हजार ५२० मात्रै वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै, पुनः श्रम स्वीकृति लिएर जानको संख्या २५ हजार ९३७ जना छन् । जसमा फागुन महिनामा नयाँ र पुनः श्रम स्वीकृति गरी ५३ हजार ४३७ जना रोजगारीमा गएको देखिन्छ ।

यसअघि माघ महिनामा ३२ हजार ३५७ जानले नयाँ श्रम स्वीकृति लिएका थिए भने २२ हजार ११३ जनाले पुन श्रमः स्वीकृति लिएका थिए । सो महिना नयाँ र पुनः श्रम स्वीकृति गरी ५४ हजार ४७० जना विदेशिएको विभागले उल्लेख गरेको छ ।

त्यस्तै, विभागले पुस महिनामा सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्मकै उच्च श्रमिक वैदेशिक रोजगारीमा पुगेको देखिन्छ । पुस महिनामा नेपालमा ओमिक्रोनको निकै प्रभाव थियो । तर, सोही अवधिमा उच्च कामदार वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

पुस महिनामा नयाँ श्रम स्वीकृती लिई करिब ३ विश्वका विभिन्न ८८ वटा देश पुगेका छन् । जसमा ३३ हजार ७६ जान पुरुष छन् भने २९ सय १७ जना महिला रहेका छन् । साथै, पुनः श्रम स्वीकृती र नयाँ श्रम स्वीकृती लिई ६६ हजार ६ सय २५ जना सोही महिनामा विदेशिएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

मंसिर महिनामा ३४ हजार ४ सय ९७ जनाले मात्रै श्रम स्वीकृति लिएका थिए । तर, नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति गरी ७४ हजार ३ सय ५४ जना विदेशिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, कात्तिकमा नयाँ र पुनः गरी ५४ हजार ९ सय १८ जना, असोजमा ३९ हजार ६ सय ७१ जना, भदौमा ३६ हजार ४० जना र साउनमा २५ हजार ४ सय २८ जना विदेशिएका छन् ।

सबैभन्दा बढी साउदी अरेबियामा पुगे

नेपालबाट फागुन महिनामा ८२ वटा देशमा रोजगारीको लागि पुगेका छन् । विभागका तथ्याङ्क अनुुसार फागुन महिनामा सबैभन्दा बढी साउदी अरेबियामा रोजगारीमा लागि पुगेका छन् । नयाँ र पुनः श्रम स्वीकृति गरी फागुन महिनामा १५ हजार ६८५ जना विदेशिएका छन् ।

त्यसैगरी, कतारमा १५ हजार ६३ जना, युएईमा ११ हजार ४९८ जना, कुबेतमा ४ हजार ७५१ जना, बहराइनमा १२ सय ६४ जना, मलेसियामा ९९१ जना, ओमनम ७५८ जना, क्रोसियामा ६२२ जना र माल्दिभ्सयम ४२७ जनाले नयाँ र पुनः श्रम स्वीकृति लिई विदेशिएका छन् ।


क्लिकमान्डु