बीमा क्षेत्रको बिकासका लागि राष्ट्रिय बीमा नीति तर्जुमा गरिने, समितिले बुझायो मस्यौदा



काठमाडौं । बीमा क्षेत्रको बिकास र बिस्तारका लागि राष्ट्रिय बीमा नीति ल्याइने भएको छ ।

बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनका लागि राष्ट्रिय बीमा नीति आवश्यक रहेको भन्दै समितिले सरकारसमक्ष नीति तर्जुमा गर्न आग्रह गरेको हो ।

समितिले राष्ट्रिय बीमा नीतिको मस्यौदा तयार गरी अर्थमन्त्रालयमा बुझाएको छ ।

बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन सरकारलाई आग्रह गर्दै आएको थियो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालमा राष्ट्रिय बीमा नीति नभएको र यसको आवश्यकता भएको बताए ।

उनले उक्त नीति ल्याउनका लागि आफूले समितिको अध्यक्ष पदमा नियुक्त भएदेखि नै पहल गर्दै बताए । राष्ट्रिय बीमा नीति ल्याउनका लागि सरकार पनि सकारात्मक भएको उनको भनाइ छ ।

सरकारले राष्ट्रिय बीमा नीतिको मस्यौदा बुझाउन आग्रह गरे पछि समितिले सोको मस्यौता समेत बुझाएको उनले जानकारी दिए ।

‘नेपालमा राष्ट्रिय बीमा नीति छैन । जुन नेपालका लागि आवश्यक छ । सरकार पनि सकारात्मक छ,’ अध्यक्ष सिलवालले क्लिकमाण्डूसँग भने, ‘त्यसको मस्यौदा समेत बुझाइसकेका छौँ ।’

उनका अनुसार त्यसलाई आवश्यक छलफल गरेर अघि बढाउन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग तयार छ ।

‘बीमामा पनि राष्ट्रिय नीति हुनु पर्यो । जसलाई टेकेर सबैले आ–आफ्नो काम कारबाही गर्ने हो । नीति भनेको मार्गदर्शन पनि हा,’ उनले भने ।

बीमा क्षेत्रलाई राष्ट्रिय प्राथमिकताका आधारमा विकास गर्न राष्ट्रिय बीमा नीतिको आवश्यकता भएको उनको भनाइ छ ।

उनका अनुसार बीमामा देखिएको बदलिदो परिवेश तथा त्यसबाट उत्पन्न चूनौती सामना गर्न सबै क्षेत्रमा बीमाको पहुँच बढाउन उक्त बीमा नीतिले सहयोग गर्ने छ । उक्त नीतिको अर्को काम भनेको बीमा क्षेत्रको गुणस्तर कायम गर्नु पनि हो ।

बीमा बजारमा नीति आउनु पर्ने उनको भनाइ छ । नीतिले अगाडि बढ्नका लागि बाटो तय गरिदिन्छ, जसले गर्दा अघि बढ्नका लागि मद्दत पुग्ने र बीमाको दायरा विस्तार हुन्छ ।

राष्ट्रिय बीमा नीति तर्जुमा भए अघि बढ्नका लागि बाटो खुल्ने उनले बताए ।

‘नीति आएपछि संघ सरकारले पनि आफ्नो बजेटमार्फत्, आफ्नो निकायमार्फत् बीमालाई अगाडि बढाउँछ । प्रदेश सरकारले पनि त्यसै गर्छ,’ उनले भने, ‘नीति भएन भने मन लागे गर्ने मन नलाग्दा नगर्ने हुन्छ । तर, नीति भयो भने नीति भन्दा बाहिर रहन पाइएन ।’

उनले बीमा राष्ट्रिय प्राथमिकतामा गर्नुपर्ने विषय रहेको बताए ।

नेपालको बीमा क्षेत्रका विकास गर्नका लागि राष्ट्रिय बीमा नीतिको आवश्यकता रहेको उनको भनाइ छ ।


क्लिकमान्डु