सीमा पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्जपछि धरानमा ट्राभल मार्ट आयोजना हुँदै




काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट शुरु गरेको छ ।

बोर्डले यही चैत ११ गतेदेखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना गर्ने भएको छ ।

बोर्डमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए ।

नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना भइरहेको उनले बताए ।

उनका अनुसार नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमा फागुन २६ गतेदेखि २८ गतेसम्म वेस्टर्न ट्राभल मार्ट सम्पन्न भइसकेको छ ।
त्यसैगरी धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रदेश नं. १ को धरानमा चैत्र ११ गतेदेखि १३ गतेसम्म इष्ट टुरिजम मार्ट र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको सहकार्यमा धनगढीमा चैत २५ गतेदेखि २७ गतेसम्म फार वेष्ट ट्राभल मार्ट आयोजना गर्न लागिएको पर्यटन बोर्डले जानकारी दिएको छ ।

प्रदेश नं. १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचार प्रचार गर्ने उदेश्यका साथ धरानमा यो मार्ट आयोजना हुन गईरहको इष्ट टुरिजम मार्टका संयोजक भवेषकुमार श्रेष्ठले जानकारी दिए ।


क्लिकमान्डु