वैदेशिक रोजगारमा रहेका नेपालीले स्थानीय तहबाटै अनलाइनमार्फत् आर्थिक सहायता लिन पाउने



काठमाडौं । वैदेशिक रोजगारीको क्रममा कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएका कामदार तथा कामदारको परिवारले अब स्थानीय तहबाटै अनलाइनमार्फत् आर्थिक सहायता लिन पाउने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको वैदेशिक रोजगार बोर्ड सचिवालयले सूचना जारी गर्दै अब स्थानीय तहबाटै आर्थिक सहायता पाउने व्यवस्था गरिएको जानकारी दिएको छ ।

‘वैदेशिक रोजगार नियमवाली, २०६४ (पाँचौ संशोधन) मा व्यवस्था भएअनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएमा घटेको मितिले एक वर्षभित्र बोर्डबाट नियमानुसारको आर्थिक सहायता वा क्षतिपूर्तिका लागि स्थानीय तहमार्फत् समेत निवेदन दिन सक्नेछ,’ सूचनामा उल्लेख छ ।

नियमावलीमा रहेको उक्त व्यवस्थालाई थप सरल र सहज बनाउने उद्देश्यले बोर्डको सचिवालयबाट अनलाईन सफ्टवेयर प्रणाली फरेन इम्प्लोइमेन्ट वेल्फेयर इन्फरमेसन सिस्टम (एफइडब्लूआईएमएस) को विकास गरी कार्यान्वयनमा ल्याउन तयारी रहेको बोर्डले जनाएको छ ।

यसका लागि मन्त्रालयको मन्त्रिस्तरको निर्णयबाट वैदेशिक रोजगार कल्याणकारी सूचनाव्यवस्थापन प्रणाली कार्यविधि, २०७८ समेत स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ ।

साथै, बोर्डले अनलाइन प्रणालीको ‘युजर क्रेडेन्सियल’ प्रयोग गरी बोर्ड सचिवालयबाट प्रवाह हुने सेवाका लागि स्थानीय सेवाग्राहीहरूलाई सहजीकरण गर्न ईच्छुक सबै स्थानीय तहहरूले चैत मसान्तभित्र आधिकारिक व्यक्तिको सम्पर्क नम्बर, इमेल, ठेगाना र नमूना उल्लेख गरी सचिवालयमा पत्राचार गर्न अनुरोध गरेको छ ।


क्लिकमान्डु