ग्लोबल मनी विक मनाउँदै सेबोन, कति बढ्ला वित्तीय साक्षरता ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले साताब्यापी ग्लोबल मनी विक मनाउने भएको छ ।

बोर्डले सोमबारदेखि आगामी आइतबारसम्म देशब्यापी रुपमा मनी विक मनाउन लागेको हो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको पनि सहभागीता रहने छ । यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएससी, मर्चेन्ट बैंकर्स, धितोपत्र दलाल व्यवसायी, रेटिंग एजेन्सीको समेत यो कार्यक्रममा सहभागीता हुनेछ ।

सबै निकायले आ–आफ्नो क्षेत्रको बारेमा जानकारी गराउने र वित्तीय साक्षरताको लागि आवश्यक सामग्री प्रकाशित गर्ने भएका छन् । धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितको संरक्षण गर्ने मुख्य उद्देश्य रहेको कार्यक्रम सोमबार सेबोन, राष्ट्र बैंक, बीमा समिति र सहकारी विभागबाट संयुक्त रुपमा कार्यक्रम सुरु हुने र चार वटा कार्यपत्र प्रस्तुत गरिने भएको छ ।

मंगलबार पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरण, धितोपत्र बजारको अवस्था तथा प्रवृति, बजारको विकास तथा विस्तारका लािग विगतका वर्षहरुमा भएका पहलहरु सार्वजनिक गर्ने, नेप्से र सिडिएससीले नट्स सिस्टम,सेन्ट्रल सेक्युरिटी डिपोजिटरी को प्राविधिक पक्षहरुका सम्बन्धमा सर्वसाधारणलाई शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम गर्ने रहेको छ ।

बुधबार बुटवल, पोरखा, बिराटनगरमा धितोपत्र बजारसम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम गरिने भएको छ । बिहीबार धनगढीमा प्रदेशस्तरीय अन्तकृया कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना रहेको छ भने शुक्रबार सामुहिक लगानी कोष र क्रेडिट रेटिङ विषयमा सचेतना अभिवृद्धि कार्यक्रम रहेको छ ।

शनिबार धितोपत्र तथा वस्तु विनिमय बजारको बारेमा रेडियो नेपालमा कार्यक्रम सञ्चालन हुने छ । आइतबार भने बोर्ड लगायत सरोकारवाला निकायले गरेको अध्ययन सामग्री सार्वजनिक गने, प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । यो कार्यक्रमले धितोपत्र तथा बस्तु विनियम बजारसम्बन्धी सूचना, गतिविधि तथा महत्वको बारेमा सर्वसाधारणमा ब्यापक सञ्चार हुने र लगानीकर्ता उत्साहित हुने, वित्तीय साक्षरता बढ्ने बोर्डको अपेक्षा रहेको छ ।


क्लिकमान्डु