अनलाइन क्लासले मोबाइलको व्यापार चम्कियो



काठमाडौं । सावमी, कलर्स र नोकिया मोबाइलको नेपालको लागि आधिकारिक बिक्रेता टेली डाइरेक्ट प्रालि र टेलीटल्क प्रालिको व्यापार तेब्बरले बढेको छ । विगतको दिनमा पनि व्यापार बढाउँदै आएको कम्पनीले कोरोना कै समयमा पनि उच्च रुपमा व्यापार गरेको देखिन्छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार कम्पनीको व्यापार बढ्दो क्रममा जनाएको छ ।

टेली डाइरेक्टअन्तर्गतको सावमी मोबाइलको कम्पनीले सन् २०१९ मा १ अर्ब १३ करोड ३० लाखको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२० मा आइपुग्दा कम्पनीले आफ्नो व्यापार दोब्बर गरेको देखिन्छ । सन् २०२१ मा हालसम्मकै उच्च व्यापार गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको सन् २०२१ मा मात्रै तेब्बरले व्यापार बढेको छ । सन् २०२१ मा कम्पनीको व्यापार करिब ८ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार सन् २०२१ मा ७ अर्ब ९९ करोड ७० लाखको सावमी मोबाइलको व्यापार गरेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२२ को पहिलो त्रैमासिकमा ३ अर्ब ३१ करोड ७० लाख व्यापार गर्ने अनुमान गरेको छ ।

सावमीको नयाँ मोडलका मोबाइलसँगै विभिन्न मूल्यमा उपलब्ध छ । उक्त मोबाइलको प्रयोग गर्ने ग्राहक बढेसँगै व्यापारमा पनि उछाल आएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, नेपालमा रेमिट्यान्स बढ्दै गएपछि मोबाइलको प्रयोगकर्ता बढ्दै गएको र दैनिक जीवनको विभिन्न कार्यका लागि मोबाइलको आवश्यक भएकाले मोबाइलफोनको उच्च माग रहेको कम्पनीको दाबी छ ।

साथै, कोरोनाले गर्दा अनलाइन क्लास लिनुपर्ने भएकाले पनि मोबाइलफोनको उच्च माग भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सावमीको मोबाइल भारत र चीनबाट आयात गरेर नेपालमा बिक्री वितरण गर्दै आएको छ ।

सावमीको आधिकारिक बिक्रेता टेली डाइरेक्टले उपत्यकासहित देशभर वितरकको रुपमा काम गर्दै आएको छ । सन् २००९ मा वितरकको रुपमा काम गर्दै आएको कम्पनीको सन् २०१९ सम्ममा २८ वटा डिलर थियो भने २०२१ सम्ममा ३५ वटा डिलर पु¥याएको छ ।

त्यसैगरी, कम्पनीले अल्पकालिन कर्जाका लागि ९० करोडको रेटिङ पाएको छ ।

त्यसैगरी, कलर्स मोबाइल उत्पादनकर्ता र नोकियाको वितरक टेलीटल्कको व्यापार पनि दोब्बरले बढेको छ । कम्पनीले कलर्स मोबाइल चीनको ओइएमअन्तर्गत उत्पादन गर्दै आएको छ भने चीन र भियतनामबाट नोकिया मोबाइलफोन आयात गरेर बिक्री गर्दै आएको छ ।

कम्पनीले सन् २०१९ मा कलर्स र नोकिया मोबाइल फोनबाट १ अर्ब ९ करोड ६० लाख रुपैयाँ व्यापार गरेकोमा सन् २०२० मा १ अर्ब २४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा २ अर्ब १० करोड ८० लाखको व्यापार गरेको जनाएको छ । साथै, कम्पनीले सन् २०२२ को पहिलो त्रैमासिकमा ७२ करोड २० लाखको व्यापार गर्ने लक्ष्य लिएको छ ।

सन् २००८ मा रोहित गुप्ता, प्रतिक जलन र सन्जय अग्रवालले रमेश कोर्पअन्तर्गत स्थापना गरेको टेलीटल्क र २००९ मा टेली डाइरेक्टले बिक्रेताको रुपमा व्यापार विस्तार गरेको थियो ।

कम्पनीले २०१२ देखि नै कलर्स मोबाइलको इन–हाउस ब्रान्ड उत्पादन गर्दै आएको छ । कम्पनीले टेलीटल्क अन्तर्गत अल्पकालिन कर्जाका लागि ८९ करोड ३० लाख रुपैयाँको रेटिङ पाएको छ ।


क्लिकमान्डु