कांग्रेस महामन्त्री गगन थापाले मंगलबार निजी क्षेत्रसँग अर्थतन्त्रको ‘ब्रिफिङ’ लिने



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको विद्यमान अर्थतन्त्र र निजी क्षेत्रको मनोवलका विषयमा ब्रिफिङ लिने भएका छन् ।

त्यसका लागि महामन्त्री थापाले मंगलबार ३ बजे राजधानीको एक पाँचतारे होटेलमा निजी क्षेत्रका सीमित नेतालाई बोलाएका छन् ।

अर्थतन्त्रको अवस्था खस्कँदै गएपछि निजी क्षेत्रको मनोवल गिरेको अवस्थामा महामन्त्री थापाले निजी क्षेत्रसँग ब्रिफिङ लिन लागका हुन् ।

महामन्त्री थापाको निजी सचिवालयले दिएको जानकारी अनुसार उक्त छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यान र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ललाई बोलाइएको छ ।

उक्त छलफलमा निजी क्षेत्रले खुलस्त कुरा राखुन् भनेर सञ्चारामध्यम र अन्य व्यवसायीहरुलाई बोलाइएको छैन ।

‘मिडिया र अन्य धेरै व्यवसायीको भीड हुँदा निजी क्षेत्रले खुलेर आफ्ना कुरा नराख्ने भएकाले गोप्यरुपमा ब्रिफिङ लिन लागिएको हो,’ महामन्त्री थापाको निजी सचिवालयले भन्यो, ‘उद्योगी/व्यवसायीले राखेका समस्या जस्ताको त्यस्तै प्रधानमन्त्रीसामू राखेर सरकारमार्फत् समस्या समाधानको पहल गर्न उहाँ (गगन थापा) ले पहल गर्नुभएको हो ।’

आइतबार मात्रै एमाले अध्यक्ष ओलीले निजी क्षेत्रका दर्जनौ उद्योगी व्यापारीसँग औपचारिकरुपमै छलफल गरेका थिए । प्रतिपक्षी एमालेले निजी क्षेत्रसँग छलफल गरेको तर सत्तारुढ कांग्रेसले नगरेको गुनासो आइरहेका बेला महामन्त्री थापाले छलफल गर्न लागेका हुन् ।

निजी क्षेत्रको ब्रिफिङ लिएपछि आगामी निर्वाचनको घोषणापत्र निर्माणमा समेत निजी क्षेत्रका एजेण्डालाई कस्तो स्थान दिने भन्ने कुरा समेट्न समेत जहज हुने महामन्त्री थापाको विश्वास रहेको उनको सचिवालयले जानकारी दिएको छ ।


क्लिकमान्डु