कांग्रेसमा टिकट नपाउने देखेपछि एमाले प्रवेश गरे: वीरगन्ज मेयर सरावगी



वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टीमा आफुमाथि दुव्र्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् ।

विगतमा आफुले जसपा छोड्न दुई पटक राजीनामा दिएको भएपनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए ।

आफुलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले आफुले नयाँ पार्टी रोज्नुपरेको स्पष्ट पारे ।

‘पूर्ण रुपमा यो महानगरपालिका र पुरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले मलाई राख्नुपथ्र्यो । किनभने म त राजनीतिक पृष्ठभुमिबाट आएको थिएन । म आर्थिक र सामाजिक पृष्ठभुमिबाट आएको व्यक्ति थिए । जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपथ्र्यो, जुन ढंगले मलाई राख्नुपथ्र्यो नराख्न सकेको कारणले गर्दा दुई पटक मैले राजीनामा पनि दिए,’ उनले भने ।

मेयर सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिको चाहानाबाट प्रेरित भएका कारण एमाले रोजेको बताए ।

आफु कांग्रेस प्रवेश गर्ने विकल्प हुँदाहुँदै पनि कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको दाबी छ ।

‘नयाँ पार्टी रोज्ने बेलामा म सँग दुईवटा अप्सनहरु थिए, एउटा अप्शन थियो म कांग्रेसमा जाउँ । अर्को अप्शन थियो एमालेमा जाउँ । कांग्रेसमा जाने अप्शन अलिकति कमजोर किन भयो भने वहाँ पहिलादेखि यति भीड छ । यति मान्छेहरुले त्यहाँ पहिलादेखि नै लाइनमा लागिराखेको छ, त्यसको लागि एमाले रोजे,’ उनले भने ।

उनले एमालेमा कुनै पद पाउनका लागि शर्त गरेर नगरेको बताए ।

पार्टीले आफ्नो काम र प्रस्तुती हेरेर जुन जिम्मेवारी दिन्छ सोही जिम्मेवारी लिने उनले बताए ।

‘म जुन एमाले पार्टी प्रवेश गरेको छु । पार्टी प्रवेश गर्दाखेरी कहिल्यैपनि शर्तसहित जानु हुँदैन भन्ने मलाई लाग्छ । म निशर्त गएको छु । अब पार्टीले मुल्यांकन गर्ने हो । मेरो काम, कारबाही कस्तो रह्यो, म कसरी आफ्नो पर्फमेन्स गरे । वहाँहरुले मेयरमा भन्नुहुन्छ, मेयरमा जान्छु । अन्य कुनै पदमा भन्नुहुन्छ भने अन्य पदमा जान्छु । यसको लागि अहिलेदेखि नै मरिहत्ते गर्न मिल्दैन । पार्टीले छिट्टै यो विषयमा निर्णय गर्छ । पार्टीको आदेश अनुसार, पार्टीको टिकट अनुसार म अगाडी बढ्छु,’ उनले भने ।

आगामी निर्वाचनमा पार्टीले मेयरको टिकट दिएर मेयर बन्न तयार रहेको स्पष्ट पार्नुभयो । मेयरको टिकट नदिएर अन्य जिम्मेवारी दिएपनि स्वीकार गर्ने उनको दाबी छ ।


क्लिकमान्डु