भैरहवा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानका लागि ४ वायुसेवा कम्पनीकाे प्रस्ताव
काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि विभिन्न ४ वटा वायुसेवा कम्पनीले प्रस्ताव गरेका छन् ।
विमानस्थल प्रमुख गोविन्द प्रसाद दाहालका अनुसार कुबेतको जजिरा, श्रीलंकाको श्रीलंकन, थाइल्याण्डको थाइ स्माइल र नेपाल एयरलाइन्स विमान कम्पनीले चासो देखाएका हुन् ।
नागरिक उड्ययन प्राधिकरणले एरोनोटिकल पब्लिकेसन इन्फर्मेसन जारी गरेसँगै यी विमान कम्पनीहरुले चासो व्यक्त गरेका हुन् ।
‘सूचनाको समय ४२ दिनको हुन्छ, अहिलेसम्म यी चार विमान कम्पनीले चासो दिएका छन् । जजिराले त पत्र नै पठाइसकेको छ,’ क्लिकमाण्डूसँग कुरा गर्दै दाहालले भने ।
आगामी जेठ २ गते बुद्ध पूर्णिमादेखि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने गरी सरकारले तयारी शुरु गरिसकेको छ ।
दाहालका अनुसार गत फागुन २३ गते सुरक्षा निकाय, वन, अध्यागमन, स्वास्थ्यलगायतका सबै सरोकारवाला निकायसँग छलफल भइसकेको छ ।
‘विमानस्थल सञ्चालनका लागि सबैसँग छलफल भइसकेको छ, उहाँहरुलाई वैशाख १५ गतेसम्म व्यवस्थापन तथा संरचना निर्माणका लागि अनुरोध गरिसकेका छौं,’ दाहालले भने ।
अहिले विमानस्थलका लागि प्रहरीका लागि १७० जना, नेपाली सेनाका लागि १६५ जनाका साथै प्राधिकरणका १५१ जनाको दरबन्दी छ ।
उनका अनुसार हाल प्राधिकरणका ३५ जना मात्रै कर्मचारी काम गरिरहेको र निर्धारित समयमै सबै दरबन्दी पूर्ण हुनेछ ।
हाल विमानस्थलमा दैनिक ३० वटा अन्तर्राष्ट्रिय उडानको व्यवस्थापन गर्ने गरी काम भइरहेको छ ।
‘हाम्रो स्रोत र साधन अनुसार प्रत्येक १ घण्टामा ४५० यात्रुलाई सेवा दिन सक्छौं, साथै दैनिक ३० वटा उडानको व्यवस्थापन सहजै गर्न सक्ने क्षमता छ,’ दाहालले भने ।
विमानस्थल विहान ६ बजेदेखि साढे १८ घण्टासम्म सञ्चालन हुनेछ । दाहालका अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदासम्म भैहरवाको विमानस्थल पनि सञ्चालन हुनेछ ।
‘काठमाडौंमा कुनै समस्या भएर भारत वा अन्य गन्तव्यमा विमान डाइभर्ट हुने समस्याको विकल्पमा हामीले काम गर्ने छौं,’ उनले भने ।