तारा गाउँ रिजेन्सी साढे १२ लाख घाटामा, सोल्टी होटलको नाफा करिब ५ करोड



काठमाडौं । कोरोना महामारीको असर कम भएसँगै तारा गाउँ रिजेन्सी होटल्सले घाटा कम गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड ७५ लाख ८३ हजार १९९ रुपैयाँ घाटा बेहोरेको कम्पनीले चालु आवको सोही अवधिमा नोक्सानी १२ लाख ५९ हजार ९७२ रुपैयाँमा सीमित गरेको छ ।

साथै, सोल्टी होटले भने गत आवको दोस्रो त्रैमासमा ११ करोड ५१ लाख ४१ हजार ७९२ रुपैयाँ घाटा बेहोरेकोमा चालु आवको सोही अवधिमा ४ करोड ९० लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

तारा गाउँ रिजेन्सीका अनुससार गत आवको दोस्रो त्रैमाससम्ममा कूल आम्दानी ५.५८ करोड, कर्मचारी बोनस, सीएसआर र कर अघिको खूद नोक्सानी ५.१२ करोड रुपैयाँ रहेकोमा कोरोना महामारीका कारण पर्यटनमा असर परेकाले तर चालु आवको दोस्रो त्रैमाससम्ममा कुल आम्दानी २५.५१ करोड रुपैयाँले बढेर ३१.२९ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी सोल्टी होटलले भने चालु आर्थिक वर्षको कात्तिक, मंसिर र पुस तीन महिनामा होटलका व्यवसायिक गतिविधि तथा क्रियाकलपाहरु सामान्य रुपमा सञ्चालन भएको र होटलको आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको बताएको छ ।

कम्पनीको स्वामित्वमा सञ्चालित इन्फ्लाइट क्याटरिङ डिभिजन ‘द सोल्टी गेट गुरमेट’को व्यवसाय पनि प्रभावकारी ढंगले सञ्चालन भइरहेको होटलको भनाइ छ ।


क्लिकमान्डु