श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतार भ्रमणमा जाँदै



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतारको भ्रमणका लागि सोमवार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

नेपाल–युएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन aभिसामा संयुक्त अरव इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई प्रस्थान गर्न लागेको हो ।

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुषाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का जाने भएका छन् ।

भिजिट भिसामा लैजाने व्यक्ति/संस्थाहरूलाई कानूनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको हो ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरव इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

मन्त्री श्रेष्ठले मंगलबार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे युएईका मानव संशाधनमन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारसँग छलफल गर्नेछ ।

मंगलबार नै नेपाल–युएई संयुक्त समितिको बैठक उद्घाटनसत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन् । नेपाल–युएई संयुक्त समिति वैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नेछन् ।

नेपाल–युएई संयुक्त समितिको वैठकमा सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यान्वयनमा देखा परेका समस्या समाधानबारे छलफल हुनेछ ।

बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नेछ ।

मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले बुधबार दुवईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्थाहरु (तडवीर सेन्टर) मा भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनी दुवईमा रहेका नेपाली समूदाय तथा श्रमिकहरुसँग अन्तक्रिया गर्ने भएको छ ।

साथै, मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहीबार साँझ अफ्रिकी मुलुक गणतन्त्र सिसेल्स प्रस्थान गर्नेछ ।

बैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरु लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुनेछ ।

भ्रमण टोली आइतवार कतार जाने र सोमबार कतारसँगको श्रम सम्झौता नविकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली चैत ८ गते मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु