सीमान्तकृत समूदायलाई प्रदेश सरकारले नै बीमा गरिदिनुपर्छः मुख्यमन्त्री शाही



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले बीमाको पहुँच बिस्तारका लागि बीमा शिक्षाको प्रचार प्रसारमा जोड दिनुपर्ने बताएका छन् ।

बीमा समितिको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्य मन्त्री शाहीले बीमाको पहुँच बिस्तारका लागि बीमा शिक्षाको प्रचार प्रसारमा जोड दिनुपर्ने बताएका हुन् ।

उनले कर्णाली प्रदेश सरकारले बीमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिए ।

मुख्यमन्त्री शाहीले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानी समयमा नदिँदा बीमितहरू महिनौंसम्म कम्पनीहरूमा धाउनुपर्ने र बीमाको रकमभन्दा बढी खर्च गर्नुपर्ने अवस्था रहेको बताए । उनले समितिसमक्ष बीमा दाबी भुक्तानीमा सुधार ल्याउन आग्रह गरे ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशका सिमान्तकृत समूदायका लागि प्रदेश सरकारबाट नै बीमा गरिदिने व्यवस्था गर्नुपर्ने बताए ।

अध्यक्ष सिलवालले आर्थिकरूपले सबल समुदायका लागि भने सार्वजनिक सेवासँग आवद्ध गरेर बीमाको दायरामा ल्याउन आग्रह गरे ।

प्रदेश बीमा नीतिको तर्जूमा, बीमा शिक्षा लगायतका विषयमा प्रदेश सरकारलाई आवश्यक सहयोग गर्न समिति तत्पर रहेको बताए ।

साथै, उनले बीमाको दाबी भुक्तानी विना ढिलाई सरलरूपले बीमा कम्पनीका शाखा कार्यालयहरूबाट नै दिने व्यवस्था मिलाउन पहल भइरहेको जानकारी दिए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश कुमार लालले उपस्थि थियो ।

कार्यक्रममा निर्देशक लालले बीमा समितिको काम, कर्तव्य र अधिकार, बीमाका प्रकार, बीमाको महत्व, बीमा सूचकाङ्क, बीमा क्षेत्रमा विद्यमान चुनौती र बीमाको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका लगायतका विषयमा प्रस्तुती दिएका थिए ।


क्लिकमान्डु