देउवा सरकार बालुवामा राखेको नक्कली मुला होः ओली



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् ।

शनिवार नेपाल निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जराबिनाको मुला भएको बताए । उनले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकारमात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताए । उनले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्णरुपमा उखेलिने बताए ।

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाली काँग्रेसका नेताहरुले कर्मचारीहरुलाई सरकारलाई सहयोग नगर्न दबाव दिएको दाबी गर्दै उनीहरुको सोच अलोकतान्त्रिक सोच भएको जिकिर गरे । उनले निजामती कर्मचारीहरुले पूर्णरुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठिक छुट्याएर नबस्न आग्रह गरे ।

ओलीको भनाइ जस्ताको त्यस्तै

नेपाली काँग्रेसले म प्रधानमन्त्री हुँदा एउटा कर्मचारी भेला ग¥यो । र सरकारलाई असहयोग गर भनेर नेपाली काँग्रेसका नेताहरुले सरकारलाई असहयोग गर्न आह्वान गरे कर्मचारीका बीचमा त्यो भन्दा अलोकतान्त्रिक सोच के हुन्छ । कर्मचारीलाई हसयोग गर सरकारलाई भनेपछि सरकार कसरी चल्छ ? सिस्टम बिरोधी सोच हो । लोकतन्त्र बिरोधी सोच हो । तानाशाहीको अर्को रुप हो त्यो । त्यो रकेर्ड नेपाली काँग्रेसका नेताहरुबाट आएको अहिलेसम्म पनि छ । म आश्चर्यचकित पनि भएँ, दुखित पनि भएँ । लोकतन्त्रलाई सही ढंगले कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने ठाउँमा जिम्मेवार र लोकतान्त्रिक इतिहासमा भाग लिएको जिम्मेवार पार्टीका नेताहरुको सोच, चिन्तन, व्यवहार कस्तो छ ? भने आफू होइन, अर्को पार्टी सरकारमा भएको हुनाले कर्मचारीहरुले असहयोग गर ? कर्मचारीले सरकारलाई सहयोग नगर्न मिल्छ ? कर्मचारीको हिसावले तपाईले सरकारको काम गर्नैपर्छ । सरकारलाई सहयोग गर्नुहोस् । सरकारलाई गलत गर्नबाट जोगाउनुस् । सरकारको तर्फबाट जनतालाई दिने डेलिभरी ठिक समयमा दिनुहोस् । सरकारमा अहिले को छ भन्ने कुरा होइन, तपाईहरु सरकारी कर्मचारी हो, कर्मचारीले सरकारलाई असहयोग गर्छु भन्न मिल्दैन । नेपाली काँग्रेसका नेताहरुले सुनुन्, आज म अपोजिशन लिडरको हैसियतले भन्दैछु, तपाईहरुले सरकारलाई असहयोग गर्न मिल्दैन । तपाईहरुको तर्फबाट सरकारलाई असहयोग गर्ने होइन, साथ दिने सहयोग गर्ने हो । यो गभर्मेण्टलाई ठिक छ कि छैन तपाईहरुले धेरै छुट्याउने होइन, यसलाई ठिक हामी लगाइहाल्छौँ नि । यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भएपनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ । जरा न फराको सरकार । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ । बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ । हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ। भाग्न खोजिरहेको छ । भागेर कहाँ जान्छ, कहाँ जान्छ, चुनाव त गर्नैपर्छ ।

कहिले कहिले खासै स्ट्रेन्थ नभएका, केही पनि नभएका मानिसहरु पनि झुक्कल पुक्कल, अनेक जाल, तिक्डम, आदि इत्यादी परमादेश, जारी भएका बखत यस्ता हुलमालमा त्यस्ता मान्छेहरु पनि पावरमा पुग्न सक्छन् । त्यसरी पावरमा पुगेभने त्यस्ता मान्छेहरुमा उन्माद चढ्न सक्छ । त्यो उन्मादले देश, जनता, लोकतन्त्रको हित, संविधानको रक्षा, कार्यान्वयको वास्ता गर्दैन । मै सबथोक छु । मै शक्तिशाली छु भन्ने ठान्छ । त्यसरी उसले अहंकार देखाउँछ । कहिले कहिले टेलिभिजनमा मन्त्रीका भाषण देख्दा अचम्म लाग्दैन ? हुम् हुम् हुम् गर्छन् । तपाईहरुलाई अचम्म लााग्दैन ? क्या मन्त्री ? कहाँबाट आयो यस्तो मन्त्री ? कसरी आयो ? कस्तो कस्तो मान्छे ? अखडामा कुस्ती खेल्न पस्दैछ कि ? रेस्लिङको रिङमा पस्दैछ कि ? साधारण मान्छेहरु पनि अचम्म मान्छन् । त्यो के हो भने उन्माद हो । एउटा चिम्पान्जी जब जवान हुन्छ त्यसमा बलको उन्माद हुन्छ । बलको उन्माद भएपछि त्यसले छाति ड्याम ड्याम हान्छ । उसले कुस्ती खेल्ने जोडी खोजेको, अर्को त्यसैगरी छाति पिट्ने भेट्टायो भने भिड्छ । कहिले काहीँ म हाम्रा माननीय मन्त्रीहरुलाई त्यस्तै त्यस्तै देख्छु । कहिले काहीँ धान रोप्दा सामा पनि निस्किन्छ । मुन्तला लगाउँदा ऐँजेरु झनै सप्रिएर आउँछ । यसलाई हामीले लोकतन्त्र ठान्नु हुँदैन । लोकतन्त्रमा परमादेशी सरकारबाट निस्किएका ऐँजेरुहरु यस्तै हो । त्यसैले हामीले सही प्रतिनिधिहरु ल्याउनुपर्छ चुनावबाट । त्यस्ता पात्रहरु चुनावसँग डराउँछन् । चुनाव भनेपछि कहिले अदालत लौ न नि चुनाव भयो, ग¥यो, प्रतिगमन हुने भयो देशमा, चुनाव भएर जनताले भोट हाल्यो भने हामी त स्वाहा सुन्नुभएन ? आफू स्वाहा हुन्छु भनेर चुनाव र जनतामा जाने कुरालाई स्वाहा भन्छन्, प्रतिगमन भन्छन् । कुनै पनि ठाउँमा हिजोको जस्तै परिणाममा एमालेको सन्दर्भमा हिजोको जस्तो परिणाको कसैले कल्पना नगरे हुन्छ । एमालेले स्वीप आउट गर्दैछ । एमालेलाई ५ वर्ष सत्ता स्ञ्चालन गर्न दिएको भए ८० प्रतिशत भन्दा बढी भोट एक्लै एमालेले ल्याएर बढारिदिन्थ्यो । त्यसैले कसैले ५ वर्ष कुर्न सकेनन् । यिनीहरुले सोचेका होलान् बीचमै परामादेशबाट एमालेलाई हटाइयो अब रोकिन्छ होला भनेर तर एमाले एउटा भेल हो । रोक्ने कोशिस ग¥यो कि बगाउँछ । त्यसकारण यो भेल निर्वाचनको माध्यमबाट अघि आउँदैछ ।


क्लिकमान्डु