ठेकेदारलाई प्रधानमन्त्रीले भने- एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्नुस्



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताए ।

उनले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन हिम्मत गर्न आग्रह गरे । अमेरिकी कानूनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेण्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताए । नेपाल प्रतिस्पर्धामा भाग लिएर सफल भए नेपालीहरु खुशी हुने उनले बताए ।

‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेण्डर हुन्छ । नेपालकाले पनि हिम्मत गरे हुन्छ यो । यो एमसीसीको बिडिङमा सफल हुनुस् । सबभन्दा पहिले हामी खुशी हुनेछौँ । अन्तर्राष्ट्रिय विडिङ हुने हुनाले अमेरिकालाई बाध्यता छ अमेरिकन कानूनले अन्तर्राष्ट्रिय विडिङ गराउनुपर्ने हुनाले जुनसुकै मुलुकका पनि यसमा आउन सक्छन् । चीनका होस् । भारतको होउन् । नेपालकै हुन सक्छन् ।’ उनले भने ।

प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताए । निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखिएका समस्याहरुको नीतिगत, कानूनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताए । निर्माण व्यवसायलाई अझै व्यवसायिक र प्रतिस्पर्धि बनाउनु आवश्यक रहेको उनले बताए ।

‘निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिवद्ध छ । मुलुकमा कृषि पछि सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने निर्माण क्षेत्रको स्वच्छ र प्रतिस्पर्धि बिकासबाट मुलुकको दु्रत आर्थिक विकास सम्भव हुने कुरालाई मध्यनजर गरी यस क्षेत्रमा देखिएका समस्याहरुको नीतिगत, कानूनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक छ । भौतिक पूर्वाधारको विकास बिना मुलुकको समग्र विकास सम्भव छैन । भौतिक पूर्वाधार विकास निर्माण व्यवसाय बाट मात्र सम्भव छ । नेपालको निर्माण उद्योगलाई अझ बढी व्यवसायिक र प्रतिस्पर्धि बनाइ अन्तर्राष्ट्रिय स्तरको बनाउन निर्माण व्यवसायीहरुसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको व्यहोरा अवगत गराउन चाहान्छु । अहिलेको अवस्थामा निर्माण व्यवसायको पेशागत विशिष्टीकरण गर्दै नेपाली निर्माण व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन हामी सबै मिलेर कार्य गर्नु जरुरी छ ।’ प्रधानमन्त्रीले भने ।

देउवाले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता रहेको बताए । निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि, तथा निर्माण सामग्रीहरुको आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा उनले जोड दिए ।

‘पूर्वाधार लगायतका निर्माण क्षेत्रमा गरिने खर्चलाई दिर्घकालीन रुपमा अनुमोदन गराउनका लागि, अनुमानयोग्य बनाउनका लागि साथै बजेटलाई पनि समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता छ । निर्माण व्यवसायीहरुको मौद्रिक क्षमताले मुलुकको विकास योजना मात्रै सबै सपना पुरा गर्न सम्भव नदेखिएकोले बदलिदो समय अनुसार निर्माण व्यवसायीको क्षमता अभिवृद्धि, आधुनिकीकरण, यान्त्रिकीकरणका लागि जोड दिनुपर्दछ । यो व्यवसायमा पूर्ण प्रतिस्पर्धाको स्थिति सिर्जना गर्नु आवश्यक छ ।’ उनले भने ।

उनले निर्माण व्यवसायलाई सहज बनाउनका लागि खरिद नियमावलीको ११औँ संशोधन गरिएको स्पष्ट पारे । विकास निर्माणको काम समयमा सम्पन्न नहुँदा निर्माण व्यवसायी माथि प्रश्न उठ्ने गरेको भन्दै उनले काम ढिलो हुनाका कारण र समस्या समाधानका उपायको सम्बन्धमा सरकार व्यवसायीहरुसँग छलफल गर्न तयार रहेको पनि बताए ।


क्लिकमान्डु