मैनावती स्टिल उद्योगको व्यापार झनै खस्कियो



काठमाडौं । मैनावती स्टिल उद्योगको व्यापार वार्षिक रुपमा खस्किँदै गएको छ । केयर रेटिङ नेपालले सार्वजनिक गरेको विवरणअनुसार उद्योगको व्यापार झनै खस्किँदै गएको देखाउँदछ ।

कम्पनीले विगतका दिनमा ५ अर्ब बढीको व्यापार गर्दै आएको थियो । तर, आर्थिक वर्ष २०७७÷७८ मा उद्योगको व्यापार ४ अर्बमा सिमित भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सो वर्ष पौने ६ अर्बको व्यापार गरेको कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा सवा ५ अर्बको व्यापार गरेको थियो । उक्त वर्ष कम्पनीले ५० करोड रुपैयाँले कम व्यापार गरेको देखिन्छ ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा पनि करिब ५० करोडले कम व्यापार गरेको उल्लेख छ । जसमा कम्पनी सो वर्ष ४ अर्ब ७१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।

दुई दशकदेखि कालो पाइप, ग्याल्पनाइज पाइप, ट्युबस पाइप, टुबलरपोल, टेलिस्कोप पोल, शटर प्रोफाइल र स्ट्रक्चर उत्पादन गर्दै आएको कम्पनी बिशाल ग्रप अफ कम्पनीको रहेको छ ।

बजारमा व्यापार, उत्पादन, हस्पिटालिटी, इन्स्योरेन्स र बैंक क्षेत्रमा अब्बल विशाल ग्रुपको मैनावती स्टिल कम्पनीमा दुई जना सञ्चालक समिति छन् । उक्त स्टिल उद्योगमा त्रिलोक चन्द अग्रवाल र तुल्सी राम अग्रवाल सञ्चालक समितिमा रहेका छन् ।

त्रिलोक चन्द अग्रवालसँग उत्पादन क्षेत्रको अनुभव रहेको छ भने तुल्सी राम अग्रवालसँग बैंक तथा वित्तियसम्बन्धी अनुभव रहेको छ ।

कम्पनीले दुई वर्ष लगातार ५० करोडको हाराहारीमा कम व्यापार गर्दै आएको देखिन्छ । केयर नेपालका अनुसार उद्योगले कोरोना भाइरस महामारीका कारण समय समयमा भएको लकडाउनले गर्दा उत्पादन तथा मागमा असर पर्दा व्यापारमा असर देखिएको जनाएको छ ।

सो वर्ष उद्योगले उत्पादन गरेको जीआइई पाइप, शटर प्रोफाइल, सीआर र पीपीजीआईबाहेक अन्य उत्पादनमा व्यापार खस्किएको उल्लेख छ । जसमा सो ५ वस्तुले मात्रै २३ प्रतिशत व्यापार गरेको जनाएको छ । आर्थिक वर्ष उक्त वस्तुको व्यापार ११ प्रतिशतले मात्रै मात्रै भएको थियो ।

त्यस्तै, उद्योगले चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा १ अर्ब १ करोड ७० लाखको व्यापार गर्ने उल्लेख गरेको छ ।

उद्योगले अधिकांश कच्चा पदार्थ भारतबाट आयात गर्ने गरेको जनाएको छ । त्यसैले, नेपाली बजारको मूल्य भारतीय बजारको आधारमा तय हुने गरेको उल्लेख छ । कम्पनीको व्यापारमा ७० प्रतिशत कच्चा पदार्थको योगदान रहेको छ ।

मैनावती स्टिल कम्पनी सन् १९९५ मा सुनसरी नेपालमा एमएस ब्ल्याक र गलभनाइज पाइपको कम्पनी स्थापना भएको थियो । कम्पनीले वार्षिक १ लाख ११ हजार ९ सय मेट्रिक टन उत्पादन गर्न सक्ने क्षमता रहेको जनाएको छ ।

त्यसैगरी, कम्पनीले बैंकिङ कर्जाका लागि बीथ्री माइनस रेटिङ पाएको छ । कम्पनीले दीर्घकालीन बैंक कर्जाका लागि १५ करोड ४३ लाख रुपैयाँका लागि सो रेटिङ पाएको हो ।

साथै, कम्पनीले अल्पकालिन चालु पूँजी कर्जाको सीमाका लागि ५ अर्ब ५० करो ३६ लाख रुपैयाँ र अल्पालिन नन–फण्ड कर्जाका लागि ५६ करोड ७० लाख रुपैयाँ तोकेको छ । अल्पकालिन कर्जाका लागि कम्पनीले एथ्री रेटिङ पाएको छ ।

कम्पनीले अल्पकालिन र दीर्घकालिन गरी ६ अर्ब २२ करोड ५० लाख रुपैयाँको ऋणको लागि रेटिङ गराएको छ ।


क्लिकमान्डु