सम्पूर्ण अपडेट

निर्वाचन सफल भएकोमा बङ्गलादेशका प्रधानमन्त्री रहमानले दिए नेपाललाई बधाई

0
Shares

काठमाडौं। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली जनतालाई बधाई दिएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई फोन गरेर बधाई दिएका थिए ।

त्यसपछि प्रधानमन्त्री रहमानले पनि शुभकामना सन्देश जारी गरेर नेपालको लोकतान्त्रिक अभ्यासको प्रशंसा गरेका थिए ।

निर्वाचनले नेपाली जनताको आकांक्षा, धैर्यता र लोकतान्त्रिक संस्थाहरूको मजबुती झल्काएको उनले उल्लेख गरेका छन् ।

उनले नेपालमा सम्पन्न निर्वाचनलाई ‘महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यास’को संज्ञा दिँदै नेपाली जनताले लोकतन्त्रप्रति देखाएको प्रतिबद्धताको खुलेर प्रशंसा गरेका छन्।

सन्देशमा उनले बङ्गलादेश र नेपालबिचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन् ।

‘बङ्गलादेश नेपालसँगको पुरानो मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नयाँ सरकार तथा नेपाली जनतासँग नजिकबाट सहकार्य गर्न इच्छुक छ,’ उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री रहमानले आगामी दिनमा दुई देशबिच व्यापार, विकास तथा क्षेत्रीय सहकार्यका क्षेत्रमा सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गरेका छन् ।

नेपालमा सम्पन्न पछिल्लो निर्वाचनपछि विभिन्न देशका नेताहरूले पनि शुभकामना सन्देश पठाइरहेका छन् ।

बङ्गलादेशमा पनि सन् २०२४ मा नेपाल जस्तै जेनजी (विद्यार्थी) आन्दोलन भएको थियो । आन्दोलनपछि गत माघ २९ गते आम निर्वाचन भएको थियो । त्यसमा बीएनपीले बहुमत ल्याएपछि सो दलका अध्यक्ष रहेका रहमान फागुन ५ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।