भारतीय अर्थतन्त्रमा युट्युबको योगदान १ खर्ब बढीः अक्सफोर्ड इकोनोमिक स्टडी



यतिबेला नेपालमा सोसल मिडिया प्लेटफर्म युट्युबका साथै ओटीटी प्लेटफर्मलाई नियमनको बहस शुरु भएको छ । यो बहसलाई लिएर सरकारको चर्को आलोचना पनि शुरु भएको छ ।

पछिल्ला केही वर्षयता नेपालका आमसञ्चारमाध्यममा युट्युब प्रभावकारी माध्यमका रुपमा स्थापित भइसकेको छ । युट्युव च्यानल सञ्चालन गर्नेहरु कतिपयले राम्रो डलर आम्दानी पनि गरिरहेका छन् भने केही युट्युव च्यानलहरुले डलर कमाउनका लागि अतिरञ्जना फैलाएको भन्दै आलोचना समेत हुँदै आएको छ ।

जसको उदाहरण हो, बलत्कारको आरोप लागेका नायक र उजुरीकर्ता नाबालिग युवतीका विषयमा फैलाएका अपुष्ट सूचनाहरु नै हुन् ।

सञ्चारमाध्यमका रुपमा प्रभावकारी बनेको युट्युब भारतमा पनि उत्तिकै लोकप्रिय छ । १ अर्ब ३० करोडभन्दा बढी जनसंख्या रहेको भारतमा युट्युवका प्रयोगकर्ता मात्रै बढेका छैनन । सन् २०२० मा भारतको अर्थतन्त्रमा युट्युबबाट मात्रै १ खर्बभन्दा बढी रुपैयाँको योगदान गरेको अध्ययनले देखाएको छ ।

अक्सफोर्ड इकोनोमिक्स स्टडीले भारतमा युट्युबमार्फत् हुने कारोबार मात्रै ६ हजार ८०० करोड भारु अर्थात् १ अर्ब ८ अर्ब ८० करोड रुपैयाँ बराबरको योगदान रहेको देखाएको छ ।

सन् २०२१ मा ६ हजारभन्दा बढी प्रयोगकर्ता तथा व्यवसायमा गरिएको अध्ययनपछि उक्त रिपोर्ट सार्वजनिक गरिएको हो । अध्ययनले युट्युबमा मात्रै भारतका ६ लाख ९३ हजार व्यक्ति फूलटाइम काम गरिरहेको समेत उल्लेख गरेको छ ।

‘पहिलो पटक गरिएको अध्ययनमा युट्युबमा भारतीय जनशक्तिको आबद्धता कसरी बढिरहेको छ ? र यो कति गहिराइमा पुगेको छ भन्ने गरिएको र यसले हरेक क्षेत्रमा सकारात्मक प्रभाव पारिरहेको र यो बढ्दो क्रममा रहेको देखाएको छ,’ एशिया प्यासिफिक एक्रिडेसन कोअपरेशन, युट्युब पार्टनरसिपका क्षेत्रीय निर्देशक अजय विद्यासागरले भने ।

‘द प्लेटफर्म फर इन्डियन अपर्चुनिटी’ शीर्षकमा गरिएको अध्ययन युट्युबका कारण भारतमा पारेको आर्थिक, सामाजिक र सांस्कृतिक प्रभावका विषयमा केन्द्रित थियो ।

अध्ययनले भारतमा आर्थिक वृद्धिदरमा, रोजगारी सिर्जना तथा सांस्कृतिक रुपमा सकारात्मक प्रभाव पारेको देखाएको छ ।

‘भारतमा रहेको युट्युव कन्टेन्ट क्रियटरहरुले सञ्चारमाध्यमको नयाँ जेनेरेशन निर्माण गरेको र यसले विश्वव्यापीरुपमा दर्शक तथा श्रोतालाई जोड्न सफल भएको पाइएको छ, साथै आगामी दिनमा अझ यो तीव्र गतिमा प्रभाव बढ्ने समेत देखिएको छ,’ उनले भने ।

हाल भारतमा १ लाखभन्दा बढी सब्स्क्राइभर्स भएका युट्युब च्यानलको संख्या मात्रै ४० हजारभन्दा बढीको संख्यामा छ । जुन प्रत्येक वर्ष ४५ प्रतिशतले वृद्धि भइरहेको अध्ययनले देखाएको छ । यसले धेरैभन्दा धेरै भारतीय युट्युबमा आबद्ध जनशक्तिका लागि अवसर प्रदान गरिरहेको अध्ययनको निष्कर्ष छ ।

‘आजका दिनमा राम्रो युट्युब च्यानलले कम्तीमा १ लाख भारु आम्दानी गरिरहेकोमा यो प्रत्येक वर्ष ६० प्रतिशतले बढिरहेको अध्ययनमा देखिन्छ,’ विद्यासागरले भने, ‘यो तथ्यांकले युट्युब कन्टेन्ट क्रियटरहरुलाई थप हौसला तथा उत्प्रेरणा दिएको छ ।’

अक्सफोर्ड इकोनोमिक्सको रिपोर्ट अनसार युट्युबबाट हुने विज्ञापन र त्यसबाट हुने आम्दानी, अन्य प्रायोजकबाट प्राप्त हुने लगायतका विभिन्न् आम्दानीलाई पनि बढाएको देखिएको छ ।

अध्ययनले युट्युबबाट भइरहेको आम्दानीलाई भारतको अर्थतन्त्रमा ठूलो महत्व राख्ने उल्लेख गरेको छ । र, यो कन्टेन्ट क्रियटरका लागि मात्रै नभइ कुनै पनि बिजनेशका लागि पनि युट्युब महत्वपूर्ण माध्यम बनिरहेको देखिएको छ ।

‘युट्युबका लागि कन्टेन्ट उत्पादन गर्दा उनीहरुले वस्तु तथा सेवामा गर्ने खर्चले चेन सप्लाइका लागि फाइदा पुगेको तथा अर्थतन्त्रमा अप्रत्यक्षरुपमा ठूलो सहयोग समेत भइरहेको छ,’ उनले भने, ‘युट्युब सञ्चालक तथा जागिरेहरुका लागि यो इकोसिस्टम बनिरहेको छ ।’

उनका अनुसार युट्युबका माध्यमबाट भिडियो सम्पादक, ग्राफिक्स डिजाइनर तथा प्रोड्युसरहरुलाई समेत फाइदा पुगेको छ ।
युट्युब गरिने विज्ञापनका कारण प्रडक्टको सेल्स बढेको, ब्राण्ड पाटर्नरसिपमा वृद्धि भएको तथा प्रत्येक प्रसारणमा उल्लेख्यमात्रामा सहभागिता बढेको देखिएको छ ।

‘युट्युबमा हुने ‘अफ प्लेटफर्म’ आम्दानीले अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पारिरहेको छ । साथै, प्रत्येक तथा अप्रत्यक्ष प्रभावले अर्थतन्त्रको चेन सप्लाइनमा पनि फाइदा पुगेको छ ।

साथै, युट्युबले भारतको अर्थतन्त्रमा प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव पार्नु साथै सिर्जनशिल जनशक्तिलाई उत्प्रेरित समेत गरेको छ,’ रिपोर्टमा भनिएको छ ।


क्लिकमान्डु