लत्ताकपडा तस्करको गिरोहमाथि राजस्व अनुसन्धानको निगरानी, मुख्य कारोबारी विदेश भागे



राजस्व अनुसन्धान विभागले भारतबाट लत्ताकपडा तस्करी गर्नेको ‘नेक्सस’ खोज्न शुरु गरेपछि यस्तो कारोबारमा संलग्न व्यक्तिहरु फरार भएका छन् ।

काठमाडौं । गत कात्तिक १८ गते लक्ष्मीपुजा थियो । प्राय व्यक्ति लक्ष्मी पुजाको तयारीमा व्यस्त थिए । गोप्य स्रोतबाट राजस्व अनुसन्धान विभागमा एउटा सूचना आयो, ‘ना ६ ख १६७ नम्बरको गाडीमा राजस्व छलीमा सामान आएका छन् । गाडी मलेखु कटिसकेको छ ।’

सूचना प्राप्त भए लगत्तै विभागले टिम परिचालन गर्यो । र, ट्रकलाई थानकोटमा नियन्त्रणमा लिइयो । ट्रकमा विल विजक नभएका समान फेला परेपछि ट्रकका चालक श्याम श्रेष्ठलाई पनि नियन्त्रणमा लिँदै ट्रक विभागको कार्यालय पुल्चोक लगियो । चाडपर्वको समय भएकाले ट्रकलाई पार्क गरेर विभागका कर्मचारी आफ्नो घर लागे ।

तिहारको विदा समाप्त भएर २२ गते कार्यालय पुग्दा त सवारी चालक श्रेष्ठ फरार भइसकेका थिए । यस्तै विभागले ट्रक खोलेर हेर्दा बीरगञ्जबाट भुजा ल्याएको गाडीमा विल नभएका ४२ पोका सामान भेटिए । पोकामा महँगा सारी, सुरुवाल कुर्ता, लेहेंगा लगायतका सामान थिए । भन्सार विभागले निर्धारण गरेको रेफरेन्स मुल्य र अनुमानित बजार मुल्यका आधारमा उक्त सामानको मुल्य विभागले १ करोड १५ लाख रुपैयाँ कायम गरेको छ ।

सवारी चालक फरार भएपनि गाडीधनी र गाडीमा भएको सामान भुजा कसको हो भन्ने पत्ता लगाउन समय लागेन । किनभने, बीरगञ्जबाट गाडीमा भुजा लोड हुँदा विभागको भेइकल एण्ड कन्साइन्मेन्ट ट्याकिङ सिस्टक (भिसिटिएस) मा विवरण पेश गरिएको थियो ।

कानूनअनुसार एक ठाउँबाट अर्काे ठाउँमा सामान ढुवानी गर्दा भिसिटिएस प्रणालीमा सामान पठाउनेको नाम, पाउनेको नाम, सामानको विवरण, सवारी चालको नाम लगायतका जानकारी अपलोड गर्नु पर्छ ।

गाडी नम्बरका आधारमा विभागले भिसिटिएस प्रणालीमा हेर्दा फरार रहेका सवारी चालकको विवरण पत्ता लगायो । तर, पोकाका सामानको जानकारी भिसिटिएसमा थिएन ।

भिसिटिएसमा विवरण पेश गर्न सामान आयातकर्ता वा उत्पादक वा विक्रेताको समेत जानकारी दिनु पर्छ । पोकामा आउने सामान भन्सार छलेर ल्याइने हुँदा भिसिटिएसमा जानकारी हुँदैन ।

काठमाडौंमा भुजा मगाएका व्यवसायी विभागको सम्पर्कमा आए । व्यवसायीले विल विजक देखाएर भुजा लगे । विभागका अधिकारीले भुजामा शंका गर्ने ठाउँ पनि देखेनन् ।

भिसिटिएबाट सवारी चालकको विवरण पत्ता लगाएको विभागले श्रेष्ठको तीनपुस्ते विवरणसमेत पत्ता लगायो । विभागले उच्च अदालत पाटनबाट श्रेष्ठको नाममा प्रक्राउ पुर्जी समेत जारी गरायो । स्थायी ठेगाना काभ्रे भएकाले विभागले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग श्रेष्ठलाई प्रक्राउ गरिदिन आग्रह पनि गर्याे । तर, प्रहरीले श्रेष्ठलाई प्रक्राउ गर्न सकेन ।

विभागले अनौपचारिक च्यानल पनि प्रयोग गरिरहेको थियो । प्रहरीबाट हुन नसकेको काम अनौपचारिक च्यानलबाट भयो । विभागको सम्पर्कमा नआए सम्पत्तिसमेत रोक्का राख्ने चेतावनी दिएपछि फागुन ९ गते श्रेष्ठले विभागमा आत्मसमर्पण गरेका छन् ।

बयानका क्रममा श्रेष्ठले गाडीमा राखेको सामानको कसको हो भन्ने आफुलाई केही थाहा नभएको बताएका छन् ।

‘श्रेष्ठले हामीलाई काठमाडौंमा सामान रिसिभ गर्ने र बीरगञ्जबाट सामान पठाउने व्यक्तिको जानकारी दिएको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘उसको बयानले हामीलाई अनुसन्धानमा अगाडी बढ्न सहयोग गरेको छ ।’
९ गते आत्मसमर्पण गरेका श्रेष्ठलाई उच्च अदालत पाटनले २३ गते सम्म थुनामा राख्ने अनुमति दिएको छ ।

तीन तहको च्यानल

भारतबाट तस्करी गर्दै ल्याइएका लत्ताकपडा पोका बनाएर काठमाडौं ल्याएर बिक्री गर्ने कुनै नयाँ कारोबार होइन । सरकारले २०७६ सालमा भिसिटिएस लागु गरेपछि केही समय यस्तो कारोबार रोकिएको थियो । तर, सरकारी निकायले सबै गाडी नियमन नगर्ने भएपछि ट्रकमा साना साना पोका बनाएर सामान ल्याउने क्रम बढेको एक ट्रक व्यवसायी बताउँछन् ।

‘बीरगञ्जबाट काठमाडौँसम्म २० पोका सामान ल्याउँदा १० टन सामान ल्याए बराबर भाडा पाइन्छ,’ ती व्यसायीले भने, ‘प्रहरीले चेकजाँच गर्ने सम्भावना नहुने र आम्दानी पनि हुने हुँदा धेरै ट्रकले भन्सार छलि गरेर ल्याएको सामान पोकामा ल्याउने गर्छन् ।’

विगतमा सामान्य भरियाभन्दा माथि पुग्न नसकेको सरकारी अनुसन्धान यसपटक भने वास्तबिक कारोबारी सम्म पुग्न खोजेको छ । विभागको थुनामा रहेका सवारी चालक श्रेष्ठले काठमाडौंमा सामान रिसिभ गर्ने व्यक्तिको ठेगाना विभागलाई दिए । विभागले उक्त व्यक्तिलाई अनुसन्धानका लागि प्रक्राउ गर्याे । केरकारका क्रममा ती व्यक्ति न्यूरोड र महाबौद्धमा काम गर्ने भरिया भएको खुल्यो ।

ती भरियाले श्रेष्ठबाट आफुले सामान लिने स्विकार गर्दै ज्यालाका लागि भारी बोक्ने काम गरेको बयान विभागका दिए ।

‘मैले ट्रकबाट सामान लगेर न्यूरोडको गोदाम पुर्याउँथे,’ भरियाको बयान उदृत गर्दै अनुसन्धानमा संलग्न एक अधिकारीले भने,‘त्यो सामान कसको हो ? किन ल्याएको हो ? केही पनि थाहा छैन ।’

तर, भरियाले गोदाममा सामान रिसिभ गर्ने दुईजनाको जानकारी विभागलाई दिए । त्यसैले विभागको अनुसन्धानमा सहयोग गरेको भन्दै ती भरियालाई आवश्यक पर्दा विभागमा उपस्थित हुने शर्तमा साधारण तारिकमा छोडिएको छ ।
भरियाको सूचना आधारमा विभागले विरगञ्ज घर भएका मनोज कलवारलाई फागुन १६ मा प्रक्राउ गरेको छ । कलवारलाई २३ गतेसम्म थुनामा राख्न उच्च अदालतले अनुमति दिएको छ । कलवाल पक्राउ परेलगत्तै भरियाले नाम लिएका अर्का व्यक्ति भने भारततर्फ भागेका छन् ।

कलवारले भने विभागमा बयान दिएका छन् । बयानका क्रममा कलबारले आफुलाई सामानका विषयमा केही थाहा नभएको बताउँदै साहुले लगाएको काम गरेको बताएको विभागका अनुसन्धान अधिकारीले जानकारी दिए ।

शुरुका दुई दिन बयानमा आफुलाई केही थाहा नभएको बताएका कलवारले पोकाको सामानको बास्तबिक धनीको नाम, बीरगञ्जबाट सामान पठाउने व्यक्तिको नाम र काठमाडौंका मुख्य कारोबारीको जानकारी विभागलाई गराएका छन् ।

शुक्रबार बयानका क्रममा कलवारले अनुसन्धानलाई सहयोग गर्ने गरि बयान दिएको विभागका अनुसन्धान अधिकृतले जानकारी दिए ।

‘अहिलेसम्मको अनुसन्धानमा चौथो तहमा मुख्य कारोबारी रहेको जस्तो देखिन्छ,’ विभागका एक अधिकारी भन्छन्, ‘हामीले त ४२ पोकामा मात्रै १ करोड १५ लाखको सामान पाएका छौँ । यहाँ त महिनामा करोडौँ रुपैयाँ तस्करीको कपडा बिक्री हुने देखिन्छ । मुख्य कारोबारी पत्ता लगाउन सकिए कपडाको अवैध कारोबारको साइज कस्तो छ भन्ने पनि थाहा हुने थियो ।’

सबै आरोपी फरार

विभागले फागुन १६ गते कलवारलाई पक्राउ गरेलगत्तै बीरगञ्ज आधार बनाएर कपडा तस्करीमा संलग्न व्यक्तिको भागाभाग भएको विभागका अधिकारी दाबी गर्छन् ।

‘बीरगञ्जबाट सामान पठाउने व्यवसायी भारततर्फ भागेको सूचना हामीले पाएका छौँ,’ विभागका एक उच्च अधिकारीले भने,‘तर, हाम्रो अनुसन्धान जारी छ ।’

विगतमा यस्ता घटना हुँदा सवारीचालकले सबै विषय एक्लैगरे गरेको भन्दै सकार्ने गरेका थिए । तर, यसपटक भने आन्तरिक सहमती हुन नसक्दा घटना गोप्य रहन नसकेको विभागका अधिकारी बताउँछन् ।

‘तस्करीमा संलग्नले सवारीचालकलाई निश्चित रकम दिनुको साथै कानूनी प्र्रक्रिया पुरा गरेर छुटाउने गर्दथे,’ विभागका अधिकारी भन्छन्, ‘त्यसैले विगतमा प्रक्राउ परेका कुनै पनि सवारीचालकले आफुलाई केही पनि थाहा नभएको बताउने गरेका थिए । यस पटक भने तस्करीमा संलग्नबीच कुरा मिलेको जस्तो देखिएन । जसले गर्दा हाम्रो अनुसन्धानमा सहयोग पुग्ने सूचना प्राप्त भइरहेका छन् ।’

कलवारले काठमाडौंमा सामान रिसिभ गर्ने वास्तबिक धनी र बीरगञ्जबाट सामान पठाउने नाम दिएपछि विभागको अनुसन्धान उनिहरुमा केन्द्रीत भएको छ ।

‘कलवारले नाम दिएका व्यक्तिको नेपाली नागरिकता पनि छ भन्ने सुनिएको छ,’ विभागका एक अधिकारीले भने, ‘अहिले हामी ती व्यक्तिका तीनपुस्ते जानकारी संकलन गर्ने क्रममा छौँ । तीनपुस्ते जानकारी संकलन भएपछि अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमती लिएर थप कारबाही अगाडी बढाउने योजना छ ।’

भारतबाट सामान पठाउने मुख्य व्यक्ति विगतमा बीरगञ्जमा भएपनि पछिल्लो समय रक्सौल तर्फ भागेको स्रोतको दाबी छ ।

पछिल्लो समय झनै बढ्यो कपडा तस्करी

नेपाल राष्ट्र बैंकले लत्ताकपडा आयात गर्दा १०० प्रतिशत एलसी मार्जिन राख्नु पर्ने नीति लिएपछि पछिल्लो समय लत्ताकपडाले अवैध व्यापार बढेको छ । फागुन १२ गते जिल्ला प्रहरी कार्यालय चितवनले एकैदिन ४ वटा ट्रकमा लुकाएर ल्याएको अवस्थामा लत्ताकपडा बराबर गर्दै बीरगञ्ज भन्सार कार्यालयमा अनुसन्धानका लागि पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीले प्रहरीले गाडी चेकजाँच गर्दा विलविजक नभएका सामान फेलापारेपछि अनुसन्धानका लागि बीरगञ्ज भन्सार कार्यालयमा पठाएको जानकारी दिए ।

‘छड र सिमेन्ट बोकेको गाडीमा लुकाएर ल्याएको अवस्थामा लत्ताकपडाका पोकाहरु भेटियो,’ अधिकारीले क्लिकमाण्डूसँग भने, ‘हामीले भन्सार कार्यालयसँग समन्वय गर्दै सबै गाडी बीरगञ्ज पठाएका हौँ ।’

स्रोतका अनुसार प्रहरीले चितवनबाट समातेको सामान पर्साको ठोरी नाकाबाट चोरी पैठारी गर्दै ल्याइएको थियो । राष्ट्र बैंलले लत्ताकपडा एलसीबाट ल्याउनु पर्ने नियम बनाएपछि पछिल्लो समय अवैध व्यापार बढेको भन्सार विभागका एक अधिकारी स्विकार गर्छन् ।

‘हामीले त अर्थ मन्त्रालयसँगको छलफलबाट १०० प्रतिशत एलसी नीति ठीक छैन भनेका पनि छौं,’ भन्सार विभागका एक अधिकारीले भने, ‘तर, अर्थ मन्त्रालयले केही रेस्पोन्स गरेको छैन ।’


शरद ओझा