रुस-युक्रेन द्वन्द्वः ४ जना नेपालीमा मानसिक समस्या, ५११ जनाको उद्दार



लन्डन । रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेको बताइएको छ ।

रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिले ५११ जना नेपालीको उद्वार गरेको जानकारी गराएको छ । मितिका अनुसार ४०३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका हुन् । हालसम्म ५११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् भने उद्दार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।

समितिको बैठकमा जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको बताए । युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

बैठकमा उद्दार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले युक्रेनमा करिब ४० जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दै आएकाले पारिवारी र व्यवहारिक कारणले युक्रेन छोड्न नसकेको बताए । उनले अप्ठ्यारोमा परेका नेपालीहरुलाई आर्थिक सहयोग समेत गराउने उद्देश्यले संघको पोल्याण्ड राष्ट्रिय समितिलाई आर्थिक संकलनको लागि अनुमति दिएको जानकारी दिए ।

उनले एनआरएनएका राष्ट्रिय समितिहरु उद्दार कार्यमा सकृय रुपमा लागि परेको जानकारी दिदैँ एनआरएनए पोल्याण्डको सकृयतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको बताए ।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले रोमानियामा आयोजित एक सम्मेलनमा सहभागी भएर युद्ध प्रभावित नेपालीहरुको समस्यका बारेमा जानकारी दिए । विश्वभरका एकसय भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी सो सम्मेलनमा पोखरेलले युक्रेनबाट विस्थापित भएर रोमानिया आएका नेपालीहरुलाई सहयोग गर्न आग्रह गरे ।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेन तर्फबाट अन्य देशमा आउने नेपाली संख्या कम हुदै गएको जनाकारी दिए । उनले उद्धारको लागि आग्रह गर्ने नेपालीहरुको संख्या हुवात्ते कम हुँदै गएको र अवस्था सामान्य बन्दै गएको बताए । केही नेपालीहरु युद्धको क्रममा हराईरहेको आशंका समेत रहेको बताए ।


क्लिकमान्डु