रुस-युक्रेन द्वन्द्वः ३ सय बढी नेपाली सुरक्षित स्थलमा, केभका सबै नेपालीले युक्रेन छोडे
लन्डन । रुस-युक्रेन द्वन्द्व प्रभावित थप ३०२ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् ।
रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकमा जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए ।
समितिका अनुसार मंगलबारसम्म २३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् । यसअघि बसेको समितिको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।
समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले रुसमा रहेका नेपालीहरुले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीहरुसंग सम्पर्क रहेको जानकारी दिए ।
उनले एनआरएनएका राष्ट्रिय समितिहरु उद्धार कार्यमा सकृय रुपमा लागि परेको जानकारी दिदै एनआरएनए पोल्याण्डको सकृयतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको बताए ।
रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीहरुले युक्रेन छोडेको जानकारी दिए । उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विद्यार्थीहरु दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए । उनले पश्चिमी मुलुकहरुले रुससँगको हवाई उडानमा प्रतिवन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीहरुमा समेत संसय थपिएको बताए ।
बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए । सुवेदीले युक्रेनमा रहेका नेपालीहरुको संख्या सोचे भन्दा अझ बढी हुनसक्ने बताए ।
समितिका सदस्य सचिव चिरन्जीबी खड्काले बैठकमा नेपालहरुको उद्धारको लागि सीमा क्षेत्रमा खटिएको अनुभव सुनाएका थिए । उनले अत्याधिक चिसोका कारणले युद्ध पीडित नेपालीहरु थप समस्यामा रहेको जानकारी दिए ।
एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरुलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जनाकारी दिए । उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीहरुले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए । उनले युद्ध पीडित नेपालीहरुलाई आर्थिक अभाव रहेको जानकारी गराए । उनले आफ्नै रेष्टुरेन्ट खाली गरेर १६ जना नेपालीहरु बस्न र खानाको व्यवस्था गरेको जानकारी दिएका छन् ।
रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले रोमानियमा आएका २३ जना नेपाली सुरक्षित गन्तव्य तिर लागेको जानकारी दिए । उनले केही नेपालीहरु अन्जानमा हंगेरीको सीमामा पुग्दा अलपत्र परेको जानकारी गराए ।