एमसीसी सम्झौता अनुमोदन भएपछि मुलुक दुर्घटनाबाट जोगियोः प्रचण्ड



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको बताएका छन् ।

निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताए ।

प्रतिनिधिसभाबाट एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित अनुमोदन हुनुले व्याख्यात्मक घोषणाले पनि कानूनी मान्यता प्राप्त गरेको अध्यक्ष दाहालले बताए । १२बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएपश्चात नेपाली समाज विभाजन हुनबाट पनि बचेको उनले बताए ।

‘एमसीसी अनुमोदन भएपछि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, असंलग्न परराष्ट्र नीतिदेखि कानून र सुरक्षा प्रणालीप्रति नेपालीहरुको अडानपनि स्थापित भएको छ,’ उनले भने ।

दाहालले एमसीसीको विषयमा राष्ट्रिय सहमती जुटाउनका लागि आफूले पटक–पटक प्रयास गरेको भएपनि सफल हुन नसकेको समेत दाबी गरे ।

उनले एमसीसीको विषय ठीक ढंगले समाधान गर्न नभएको भए शान्ति सम्झौता समेत दुर्घटनामा पर्ने खतरा रहेको दाबी समेत गरे ।

उनले माओवादी केन्द्र सडक आन्दोलनमा गएर नै व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन हुन सकेको बताए ।


क्लिकमान्डु