स्थानीय तह निर्वाचनमा २ करोड थान मतपत्र छाप्ने तयारी



काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने तयारी गरेको छ ।

मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगद्वारा आज आयोजित नियमित पत्रकार भेटमा उक्त कम्पनीसँग ११ करोड रुपैयाँमा कागज खरिदका लागि सम्झौता भएकोमा महिना अवधिभित्र उपलब्ध सर्त रहेको जानकारी दिइएको छ ।

स्थानीय तहसँग त्यहाँ सक्रिय रहेको राजनीति दलको विवरणका आधारमा उम्मेदवार सङ्ख्या आँकलन गरी कति प्रकारका मतपत्र छपाउने भन्ने विषय टुङ्गोमा पुग्न भने बाँकी नै छ ।

निर्वाचन आयोगमा दर्ता रहेका १११ राजनीतिक दलमध्ये स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही फागुन ५ गतेदेखि १५ गतेसम्म ११ दिनको समयावधि दिएर दल दर्ताका लागि निवेदन दिन आह्वान गरिएको थियो ।

निर्वाचनका लागि आवश्यक पर्ने १५ प्रकारका सामग्री प्रदेश र निर्वाचन कार्यालय खरिद गरी व्यवस्थापन गर्नसमेत आयोगले निर्देशन दिइएको छ ।

स्थानीय तह निर्वाचनका लागि आयोगले अर्थमन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ बजेट माग गरेको छ ।

रकम निकासाका सम्बन्धमा आयोग र मन्त्रालयबीच छलफल भए पनि हालसम्म निकासा भएको छैन ।


क्लिकमान्डु